यस्तो छ आज काठमाडौं उपत्यकामा सुरक्षा व्यवस्था
थानकोट ।
काठमाडौं उपत्यकामा आज बिहानैदेखि नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले नाकाहरूमा कुकुरसहित सुरक्षा जाँचमा कडाइ गरेको छ ।
ठूलो संख्यामा प्रहरी सडकमा उतारिएको छ ।
पहिलो घेरामा नेपाल प्रहरी र दोस्रो सुरक्षा घेरामा सशस्त्र प्रहरी तैनाथ छ । ‘ब्याकअप’मा नेपाली सेना रहेको छ ।
काठमाडौं उपत्यकामा एकीकृत विशेष सुरक्षा योजना लागु गरिएको छ ।
प्रदर्शनकारी बसेका स्थानमा पनि सादा पोशाकसहित सुरक्षाकर्मी खटाइएको छ ।
नेकपा (एमाले) निकट राष्ट्रिय युवा संघ नेपाल र दुर्गा प्रसाईंको नेतृत्वमा रहेको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान नेपालले आज काठमाडौंमा छुट्टाछुट्टै कार्यक्रम गर्ने भएपछि सुरक्षा सतर्कता बढाइएको हो ।
युवा संघको नेतृत्वमा काठमाडौंको तीनकुनेमा प्रदर्शन हुँदै छ । दुर्गा प्रसाईंको नेतृत्वमा काठमाडौंको बल्खुमा प्रदर्शन हुँदैछ । विभिन्न ठाउँबाट जुलुस निकालेर कार्यक्रमस्थल पुग्ने दुवै पक्षले तयारी गरेका छन् ।
माइतीघर मण्डलादेखि नयाँबानेश्वरलगायत स्थानमा जिल्ला प्रशासन कार्यालय काठमाडौंले प्रदर्शन गर्न लोक लगाएपछि तीनकुने र बल्खुमा प्रदर्शन हुन लागेको हो ।
यसैबीच, सामान्य अवस्थामा दैनिक ४०० देखि ४५० को संख्यामा सवारीसाधनमार्फत मानिस काठमाडौं उपत्यकामा भित्रने गरेका ट्राफिक प्रहरीले जनाएको छ ।
पछिल्ला दुई-तीन दिनयता दैनिक ५०० देखि ६०० को संख्यामा सवारीसाधनमार्फत मानिस उपत्यकामा भित्रिरहेका काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं एसएसपी राजेन्द्रप्रसाद भट्टले जानकारी का छन् ।
“दैनिक ४०० देखि ४५० गाडी भित्रने गरेका थिए ।
दुई/तीन दिनयता दैनिक ५०० देखि ६०० गाडी भित्रिरहेका छन्,” उनले भने, “चाडपर्व मनाउन गएकाहरू फर्किएका हुन् वा अरू केही कारण हो ।”












