प्रथम चन्द्रागिरि अन्तर वडा कप फुटबल प्रतियोगिताः उपाधिका लागि चन्द्रागिरि ४ र ९ बीच खेल हुने
थानकोट ।
मंसिर ९ गतेबाट चन्द्रागिरि नगरमा जारी प्रथम चन्द्रागिरि अन्तर वडा कप फुटबल प्रतियोगिता उत्तरार्धमा पुगेको छ।
बिहीबार दुवै सेमीफाइनल सम्पन्न हुँदा प्रतियोगिता समापन नजिक पुगेको हो ।
नैकाप फुटबल मैदानमा जारी प्रतियोगितामा चन्द्रागिरि नगरपालिका वडा नं. ४ थानकोटले ट्राइबेकरमा चन्द्रागिरि नगरपालिका ८ मातातीर्थको चुनाैती पन्छाउँदै उपाधि नजिक पुगेको छ । यसैगरी चन्द्रागिरि नगरपालिका-१५ तीनथानामाथि १-० को संघर्षपूर्ण जित हात पार्दै चन्द्रागिरि नगरपालिका ०९ मच्छेगाउँपनि उपाधि नजिक पुगेको हो ।
प्रतियोगिताको उपाधि भिडन्त मंसिर १६ गते शनिबार हुने तालिका रहेको छ । प्रतियोगिताको विजेताले २ लाख नगद तथा ट्रफी पुरस्कार पाउने बताइएको छ ।
उपविजेताले १ लाख रूपैयाँ नगद तथा ट्रफी पाउँदा प्रतियोगिताको व्यक्तिगत विधा तर्फका उत्कृष्ठ खेलाडी, गोलरक्षक, प्रशिक्षक, सर्वाधिक गोलकर्ता तथा अनुशासित टोलीले समान १०-१० हजार रूपैयाँ पुरस्कार पाउने चन्द्रागिरि अन्तर वडा कप फुटबल प्रतियोगिता समितिले जनाएको छ ।
प्रतियोगितामा चन्द्रागिरि नगरका १५ मध्ये १४ वटा वडाका टोलीले सहभागिता जनाएका थिए ।












