राष्ट्रिय महिला भलिबल: आज चन्द्रागिरिको न्यू डायमण्डले एपिएफको सामना गर्दै
थानकोट ।
हेटौँडामा सञ्चालन भइरहेको बृहत् खेलकुद तथा व्यापार महोत्सवमा शुक्रबारबाट राष्ट्रिय महिला भलिबल प्रतियोगिता सुरु भएको छ । टिसिएन चौरमा जारी महोत्सवमा केशवलाल श्रेष्ठ स्मृति केन्द्रीय प्रतिष्ठान र मकवानपुर जिल्ला भलिबल सङ्घको संयुक्त आयोजनामा राष्ट्रिय महिला भलिबल प्रतियोगिता सुरु भएको हो ।
प्रतियोगितामा चन्द्रागिरि नगरपालिका न्यु डाइमण्ड, नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब, एपिएफ क्लब र मकवानपुरको छहारी युवा सेवा समाजको सहभागिता रहेको छ । प्रतियोगिताको विजेताले २ लाख र उपविजेताले एक लाख रुपैयाँसहित ट्रफी प्राप्त गर्नेछ भने विधागत उत्कृष्ट खेलाडीले समेत नगद पुरस्कार प्राप्त गर्ने आयोजकले जानकारी दिएको छ ।
प्रतियोगिता अन्तर्गत शनिबार अपरान्ह चन्द्रागिरिको न्यू डायमण्ड स्पोर्टस् एकेडेमीले सशस्त्र प्रहरी बल एपिएफको सामना गर्ने तालिका रहेको छ । 













