न्यू डाइमण्ड क्लबलाई ३-१ को सेटमा स्तब्ध बनाउँदै एपिएफले जित्यो राष्ट्रिय महिला भलिबलको उपाधि

Thankot Times

थानकोट ।

हेटौँडामा भएको केशवलाल श्रेष्ठ स्मृति राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधि सशस्त्र प्रहरीको एपीएफ क्लबले जितेको छ ।

सोमबार भएको फाइनल खेलमा चन्द्रागिरि नगरपालिका न्यू डाइमण्ड क्लबलाई ३–१ को सेटमा पराजित गर्दै एपीएफले उपाधिसहित दुई लाख रुपैयाँ जितेको हो ।

एपीएफले न्यू डाइमण्डलाई १९–२५, २०–२५, १७–२५ र २३–२५ को सेटमा हराएको हो । उपविजेता भएको न्यू डाइमण्डले एक लाख रुपैयाँमै चित्त बुझाउन बाध्य भएको छ । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी निरुता ठगुन्ना, उत्कृष्ट प्रशिक्षक विजय केसी र उत्कृष्ट सर्भर एपीएफका सरस्वती चौधरी हुँदा बाँकी विधागत उत्कृष्ट खेलाडीको पुरस्कार न्यू डाइमण्डले प्राप्त ग¥यो । उत्कृष्ट स्पाइकर जेनिसा विश्वकर्मा, ब्लकर सुमित्रा रेग्मी, डिफेण्डर सलिना श्रेष्ठ र सेटर प्रगति नाथ घोषित भए । सर्वोत्कृष्ट खेलाडीले १५ हजार र बाँकी विधागत उत्कृष्टले नगद ५ हजार रुपैयाँसहित ट्रफी प्राप्त गरे ।

५ वटा टोलीको सहभागिता रहेको प्रतियोगिता सिङ्गल राउण्ड रोविनको आधारमा सञ्चालन भएको थियो । एपीएफ ११ अङ्कका साथ समूह विजेता र न्यू डाइमण्ड १० अङ्कसहित समूह उपविजेता हुँदै फाइनल खेलेका थिए । समूह चरणको अन्तिम खेलमा न्यू डाइमण्डले त्रिभुवन आर्मीलाई र एपिएफले नेपाल पुलिस क्लबलाई हराउँदै उपाधि भिडन्त गरेका थिए ।

प्रतियोगिताको सेमिफाइनलबाट बाहिरिएका त्रिभुवन आर्मी र नेपाल पुलिस क्लबले ५०/५० हजार रुपैयाँ प्राप्त गरेको छ । विजेता, उपविजेता तथा विधागत उत्कृष्ट खेलाडीहरूलाई हेटौँडा उपमहानगरपालिकाका मेयर मीनाकुमारी लामा, आयोजक केशवलाल श्रेष्ठ स्मृति प्रतिष्ठानका अध्यक्ष प्रताप विष्ट, मकवानपुर जिल्ला भलिबल संघका अध्यक्ष वसन्तकुमार सिटौला, वडा अध्यक्षहरू लगायतले पुरस्कार वितरण गरेका हुन् ।

मकवानपुर जिल्ला खेलकुद विकास समितिले औद्योगिक शान्ति नेपाल संस्थासँगको सहकार्यमा हेटौँडामा आयोजना गरेको बृहत् खेलकुद तथा व्यापार महोत्सवमा भलिबल संघ र केशवलाल श्रेष्ठ स्मृति प्रतिष्ठानले १३ गतेबाट राष्ट्रिय महिला भलिबल प्रतियोगिताको आयोजना गरेको थियो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *