कोशीलाई हराउंँदै एपिएफले उचाल्यो प्रधानमन्त्री कप महिला टी-२० राष्ट्रिय प्रतियोगिताको उपाधि
थानकोट ।
सशस्त्र प्रहरी बलको एपिएफ क्लबले प्रधानमन्त्री कप महिला टी-२० राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ।
बुधबार कीर्तिपरस्थित त्रिवि मैदानमा कोशी प्रदेशलाई ११ रनले पराजित गर्दै एपिएफ च्याम्पियन बनेको हो।
एपिएफले दिएको ११५ रनको लक्ष्य पछ्याएको कोशीले २० ओभरमा ४ विकेटको क्षतिमा १०३ रन जोड्न सक्यो।
कोशीका लागि कप्तान रुबिना क्षेत्रीले ६२ रन जोडिन्। अन्तिम ओभरमा जितका लागि १६ रन चाहिएको स्थितिमा रुबिना पहिलो बलमै आउट भएकी थिइन्। उनले ५८ बलमा ७ चौका र १ छक्का प्रहार गरिन्।
यस्तै काजल श्रेष्ठले २२ रन जोड्दा कोशीका अरु ब्याटर चल्न सकेनन्।
बलिङमा एपिएफका करुणा भण्डारी र कप्तान सीता रानामगरले एक एक विकेट लिए।
पहिलो इनिङ्ग्समा कोशी प्रदेशकी अप्सरी बेगमले ह्याट्रिक गरिन्।
उपाधि भिडन्तमा बेगमले एपिएफविरूद्ध अन्तिम ओभरको पहिलो तीन बलमा लगातार विकेट लिएर ह्याट्रिक गरेकी हुन्।
उनले २०औं ओभरको पहिलो बलमा एपिएफका लागि अर्धशतक बनाएर खेलिरहेकी इन्दू बर्मालाई नमिता श्रेष्ठबाट क्याच गराइन्। दोस्रो बलमा नेरी थापालाई विकेटकिपर काजल श्रेष्ठबाट स्टमपिन गराउदा तेस्रो बलमा सोनु खड्कालाई बोल्ड गरिन्।
यो प्रधानमन्त्री कप २०८० को पहिलो ह्याट्रिक हो।
एपिएफ प्रतियोगितामा अपराजित रहँदै च्याम्पियन बन्न सफल भयो। समूह चरणका ६ खेल जितेको एपिएफले क्वालिफायर र फाइनलमा पनि उत्कृष्ट खेल देखाउन सफल भयो।
यता प्रतियोगितामा राम्रो लयमा देखिएको कोशीले एपिएफविरुद्ध भने जित निकाल्न सकेन। कोशीले एपिएफविरुद्ध समूह चरण, क्वालिफायर र फाइनल गरी तीन खेलमा हार बेहोर्यो। यीबाहेक कोशीले अरु सबै खेलमा जित निकाल्यो।
खेलमा टस जितेर पहिले ब्याटिङ गरेको एपिएफले ७ विकेटको क्षतिमा ११४ रन जोड्न सफल भयो।
एपिएफका अरु ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन्।
बलिङमा कोशीकी बेगमले ह्याट्रिक गर्दै ३ विकेट लिँदा एलिसा खडियाले २ विकेट लिइन्।
एपिएफका लागि इन्दू बर्माले ५३ रनको अर्धशतकीय पारी खेलिन्। उनले ४७ बलमा ६ चौका र १ छक्का प्रहार गरिन्। ओपनर ज्योती पाण्डेले २७ रन र रोमा थापाले १४ रन बनाए।













