चौथो टाइगर कप महिला भलिबलः चन्द्रागिरि न्यु डायमण्ड फाइनलमा

Thankot Times

थानकोट ।

चन्द्रागिरि नगरपालिका न्यु डायमन्ड क्लब चौथो टाइगर कपको महिलातर्फ फाइनलमा प्रवेश गरेको छ ।

पोखरा रंगशालाको भलिबल कोर्टमा बिहीबार सम्पन्न सेमिफाइनलमा नेपाल पुलिस क्लबलाई सोझो सेटमा पराजित गर्दै चन्द्रागिरि नगरपालिका न्यु डायमन्डले उपाधि भिडन्तमा स्थान पक्का गरेको हो ।

चन्द्रागिरि न्यु डायमन्डले उपाधिका लागि अब नेपाल एपिएफ क्लबसँग खेल्नेछ ।

खेलमा न्यु डायमन्डले पहिलो सेट २५-१९, दोस्रो सेट २५-१८ र तेस्रो सेट २५-१८ को अन्तरले जित्दै फाइनलमा स्थान बनाएको हो । 

प्रतियोगिता अन्तर्गत शुक्रबार महिलातर्फ तेस्रो खेल र पुरुषतर्फका सेमिफाइनल खेलहरु हुने तालिका रहेको छ । यस्तै प्रतियोगिताको अन्तिम दिन पुरुष र महिलाको फाइनलसँगै पुरुषको तेस्रो स्थानको खेल पनि हुनेछ ।

महिला र पुरुष दुवै तर्फको विजेता टोलीले समान ५ लाख ५५ हजार ५ सय ५५, दोस्रो हुनेले २ लाख ५५ हजार ५ सय ५५ तथा तेस्रो हुनेले १ लाख २५ हजार ५ सय ५५ रुपैयाँ प्राप्त गर्नेछन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *