यू-१९ विश्वकपको आजदेखि, नेपालले पहिलो खेलमा आइतबार न्युजिल्यान्डको सामना गर्ने

Thankot Times

थानकोट ।

आईसीसी यू–१९ विश्वकप क्रिकेट प्रतियोगिता-२०२४ शुक्रबारदेखि दक्षिण अफ्रिकामा सुरु हुँदैछ ।

सन् १९८८ मा आईसीसी यू–१९ विश्वकपको पहिलो संस्करण अस्ट्रेलियामा आयोजना भएको थियो । त्यतिबेला यो प्रतियोगिताको नाम ‘युथ क्रिकेट वल्र्ड कप’ राखिएको थियो । यसपटक हुन लागेको प्रतियोगिता यू-१९ विश्वकपको यो १५औँ संस्करण हो ।

प्रतियोगिताको पहिलो दिन शुक्रबार अमेरिका र आयरल्यान्ड तथा दक्षिण अफ्रिका र वेस्ट इन्डिजबिच खेल हुनेछ । यू–१९ विश्वकपको १५औँ संस्करणमा नेपालसहित १६ वटा टोलीको सहभागिता रहेको छ । प्रतियोगितामा सहभागी टोलीलाई चार समूहमा विभाजन गरिएको छ । नेपाल प्रतियोगिताको समूह ‘डी’ मा परेको छ ।

नेपालको समूहमा अफगानिस्तान, न्युजिल्यान्ड र पाकिस्तान पनि परेका छन् । यू–१९ विश्वकपमा नेपालले आफ्नो पहिलो खेल जनवरी २१ तारिखमा न्युजिल्यान्डसँग खेल्नेछ । जनवरी २४ तारिखमा नेपालले पाकिस्तानसँग आफ्नो दोस्रो खेल खेल्नेछ । नेपालले तेस्रो खेल जनवरी २७ तारिखमा अफगानिस्तानसँग खेल्नेछ ।

समूहगत चरणको खेलको समाप्तिपछि प्रत्येक समूहको माथिल्लो स्थानमा रहने तीन-तीन टोली प्रतियोगिताको ‘सुपर सिक्स’ चरणमा प्रवेश गर्नेछन् । ‘सुपर सिक्स’ चरणमा पुगेका टोलीलाई पनि दुई समूहमा विभाजन गरिने छ । समूह ‘ए’ र समूह ‘डी’ बाट आएका तीन-तीन टोली एउटा समूहमा रहने छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *