यू-१९ विश्वकप क्रिकेट: आज नेपालले बंगलादेशसँग प्रतिस्पर्धा गर्ने

Thankot Times

थानकोट । 

दक्षिण अफ्रिकामा जारी आइसीसी यू-१९ विश्वकपको सुपर सिक्समा आज नेपालले बंगलादेशसँग प्रतिस्पर्धा गर्दैछ।

खेल दिउँसो १ः४५ बजे सुरु हुनेछ ।

मंगलबार भारत र पाकिस्तानले जित निकालेपछि सुपर सिक्समा एउटा पनि खेल नखेल्दै नेपाल सेमिफाइनल दौडबाट भने बाहिरिइसकेको छ। मंगलबारको खेल परिणामले सेमिफाइनल पुग्ने सम्भावना समाप्त भएको नेपालले सुपर सिक्सको पहिलो खेल बंगलादेशसँग खेल्न लागेको हो।

बंगलादेशको भने गणितिय सम्भावना बाँकी छ। अघिल्लो चरणको यात्राका लागि बंगलादेशले नेपाल र पाकिस्तानविरुद्ध फराकिलो जित निकाल्नुपर्ने छ। सुपर सिक्समा एक टिमले केवल दुई खेल खेल्न पाउने भएकाले अब नेपालले दुबै खेल जिते पनि चार अङ्क मात्रै हुनेछ।

सुपर सिक्समा नेपालले दोस्रो खेल शुक्रबार भारतसँग खेल्दैछ। नेपाल समूह डी बाट तेस्रो स्थानमा रहेर सुपर सिक्स पुगेको हो ।

नेपालले समूह चरणको पहिलो खेलमा न्युजिल्यान्डसँग ६४ रन र दोस्रो खेलमा पाकिस्तानसँग ५ विकेटको हार खाएको थियो। सनसनीपूर्ण बनेको अन्तिम खेलमा अफगानिस्तानलाई १ विकेटले हराउँदै नेपाल सुपर सिक्समा पुगेको हो।

समूह चरणपछि सुपर सिक्स भनिएको प्रतिस्पर्धामा नेपालसहित १२ टिम सहभागी छन्। सुपर सिक्समा नेपाल, भारत, पाकिस्तान, न्युजिल्यान्ड, बंगलादेश र आयरल्यान्ड एउटा समूह बनेको छ भने अर्को समूहमा दक्षिण अफ्रिका, इंग्ल्यान्ड, वेस्टइन्डिज, अष्ट्रेलिया, श्रीलंका र जिम्बावे छन्।

आज नेपाल र बंगलादेशसहित चार खेल हुँदैछन्। मंगलबार तीन खेल भइसकेका छन्। मंगलबार भारतले न्युजिल्यान्डलाई २ सय १४ रनको फराकिलो अन्तरले हराएको छ। सुपर सिक्सको पहिलो खेलमा न्युजिल्यान्ड विरुद्ध पहिले ब्याटिङ गरेको भारतले दुई सय ९५ रन बनाएको थियो। जवाफी ब्याटिङमा न्युजिल्याण्ड ८१ रनमा नै अलआउट भयो।

त्यस्तै अर्को खेलमा समूह ‘डी’ को विजेता बनेको पाकिस्तानले आयरल्यान्डलाई ३ विकेटले पराजित गरेको छ। पहिले ब्याटिङ गर्दै आयरल्यान्डले १८२ रनको लक्ष्य प्रस्तुत गरेको थियो। जवाफमा पाकिस्तानले सात विकेटको क्षतिमा लक्ष्य पुरा गरेको हो। जितसँगै भारत र पाकिस्तानको सेमिफाइनल यात्रा सहज भएको छ। मंगलबार भएको अर्को खेलमा श्रीलंकामाथि वेस्ट इन्डिजले तीन विकेटको जित निकालेको छ।

अहिलेसम्म भारतले सर्वाधिक ५ पटक यू- १९ विश्वकपको उपाधि जितेको छ। अष्ट्रेलियाले तीन पटक उपाधि हात पारेको छ भने पाकिस्तानले दुई उपाधि उचालेको छ। बंगलादेश, दक्षिण अफ्रिका, वेस्ट इन्डिज र इंग्ल्याण्डले एक एक पटक उपाधि जितेका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *