पछिल्लो तीन घण्टामा नैकाप क्षेत्रमा सबैभन्दा धेरै पानी पर्यो, विष्णुदेवी क्षेत्र जलमग्न
थानकोट ।
गएराति काठमाडाैं उपत्यका लगायत देशका विभिन्न ठाउँमा मुसलधारे पानी परिरहेको छ ।
निरन्तर पानी परिरहेकाले काठमाडाैंका विभिन्न क्षेत्र जलमग्न भएका छन् ।
सडकमा पानी जम्दा पैदलयात्रु समस्यामा परेका छन् भने सडकमा सवारी साधनको चाप बढ्दा लामो जाम रहेको ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।
काठमााडाैंका उपत्यका ट्राफिक प्रहरी महाशाखाकाअनुसार माइतीघर, लैनचौर, पुतलीसडक, स्वयम्भू, कोटेश्वर, केशरमहल, वनस्थली, रामशाहपथलगायतका मुख्य सडक र सहायक सडकहरू जलमग्न भएकाले गाडी आउजाउ प्रभावित भएको छ ।
काठमाण्डौ उपत्यकाका केही सरकारी कार्यालय र घरहरू जलमग्न भएका छन् ।
पछिल्लो तीन घण्टामा सबैभन्दा धेरै ललितपुरको गोदावरी जल मापन केन्द्रमा ६८ मिलिमिटर वर्षा मापन भएको छ ।
ललितपुरको लेलेमा ३९ दशमलव ४ र टीकाथलीमा ३५ दशमलव ४ मिलिमिटर वर्षा मापन भएको छ ।चन्द्रागिरि नगरपालिका १३ र १४ नैकाप क्षेत्रमा पछिल्लो तीन घण्टामा ३० दशमलव ६, कपनमा २५ र बूढानीलकण्ठमा २१ मिलिमिटर वर्षा भएको छ ।
वर्षासँगै चन्द्रागिरि नगरको बल्खु खोलामा पानी सतह माथि बढेको छ ।










