५० लाख जरिवाना तोकिएका ३५ वर्षीय युवा चन्द्रागिरिबाट पक्राउ
थानकोट ।
बैंकिङ कसुर मुद्दामा रु ५० लाख जरिवाना र १५ दिन कैद सजाय तोकिएका एक व्यक्तिलाई प्रहरीले काठमाडौंको चन्द्रागिरिबाट पक्राउ गरेको छ ।
अर्घाखाँची घर भई हाल काठमाडौंको चन्द्रागिरि नगरपालिका बस्दै आएका काशीराम भुसाललाई पक्राउ गरिएको प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले जनाएको छ ।
मौज्दात रकम नभएको आफ्नो खाताबाट पीडितलाई चेक दिएको घटनामा उच्च अदालत पाटनले बैंकिङ कसुरजन्य अपराध गरेको ठहर गरी १५ दिन कैद र रु ५० लाख जरिवाना हुने फैसला सुनाएको थियो । त्यसपछि फरार रहेका भुसाललाई फैसला कार्यान्वयन तथा फरार प्रतिवादीको खोजतलास एवं पक्राउका लागि ब्यूरोबाट परिचालित टोलीले आइतबार पक्राउ गरेको हो ।
उनलाई फैसला कार्यान्वयनका लागि आजै ललितपुर जिल्ला अदालतमा पेश गरिएको ब्यूरोका प्रवक्ता प्रहरी उपरीक्षक श्यामकुमार महतोले जानकारी दिए ।










