तेस्रो मातातिर्थ गोल्डकपको उपाधिका लागि क्लीन भीजन र एभरेष्ट युथ क्लबबीच प्रतिस्पर्धा हुने
थानकोट ।
चन्द्रागिरि नगरपालिका-०६ मातातिर्थस्थित बालागाउँ खेल मैदानमा जारी तेस्रो मातातिर्थ गोल्डकप फुटबल प्रतियोगिताको उपाधिका लागि क्लीन भीजन र एभरेष्ट युथ क्लबबी प्रतिस्पर्धा हुने भएको छ ।
शुक्रबार सम्पन्न प्रतियोगिताको सेमीफाइनल खेलमा विजयी हुँदै क्लीन भीजन र एभरेष्ट उपाधि नजिक पुगेका हुन् ।
प्रतियोगिताको पहिलो सेमीफाइनलमा मिलन युथ क्लबमाथि २-० को जित हात पार्दै एभरेष्ट युथ फाइनलमा प्रवेश गरेको हो ।
दोश्रो सेमीफाइनलमा क्लीन भीजन क्लबले समतामुलक युवा क्लबमाथि पेनाल्टी सूटआउटमा जित हात पार्यो । निर्धारित समयमा समान १-१ गोल भएपछि पेनाल्टी सुटआउटमा धकेलिएको खेलमा क्लीन भीजन ५-४ ले विजयी भयो ।
उपाधिका क्लीन भीजन र एभरेष्ट युथ क्लबबीच भोलि शनिबार बिहान ११ः३० बजे उपाधिका लागि प्रतिस्पर्धा हुने तालिका रहेको छ।
सो अघि बिहान ८ बजे मिलन युथ क्लब र समतामुलक युवा क्लब तेस्रो स्थानका लागि प्रतिस्पर्धा गर्नेछन् ।
प्रतियोगिताको विजेताले नगद ४ लाख रूपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछ ।
दोश्रो हुने टोलीले २ लाख ५० हजार रूपैयाँ ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछ । यस्तै तेस्रो स्थान प्राप्त गर्ने टोलीले १ लाख ५० हजार रूपैयाँ, ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्दा उत्कृष्ठ टोलीले २० हजार प्रोत्साहन रकम पाउनेछ ।
व्यक्तिगत विधातर्फ सर्वोत्कृष्ठ खेलाडी, सर्वाधिक गोल कर्ता, उत्कृष्ठ डिफेन्डर र उत्कृष्ठ गोल रक्षकले नगद १० हजार रूपैयाँ, ट्रफी, मेडल प्राप्त गर्नेछन् ।
मातातिर्थ संरक्षण तथा विकास संस्थाको आयोजनामा प्रतियोगिता सञ्चालन भएको हो ।














