नागढुंगा-मुग्लिन सडकमा सुरू भयो ‘पोस्ट क्र्यास रेसपोन्स एन्ड केयर सिस्टम’
थानकोट ।
सशस्त्र प्रहरी बलको नेतृत्वमा पृथ्वी राजमार्गमा ‘पोस्ट क्र्यास रेसपोन्स एन्ड केयर सिस्टम’ सुरू भएको छ। यो दुर्घटनाको समयमा व्यवस्थित रूपमा गरिने प्रभावकारी उद्धार तथा उपचार प्रणाली हो।
दुर्घटनालगत्तै दिनुपर्ने अति आवश्यक सेवा र उपचारका लागि आवश्यक जनशक्ति तयार पारेर खटाउन प्रणाली बनाएर काम सुरू गरिएको सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले बताए।
यो कामका लागि राष्ट्रिय सडक सुरक्षा परिषद र सशस्त्र प्रहरी बलबीच गत माघ २५ गते सम्झौता भएको थियो। उक्त सम्झौतामा टेकेर दुर्घटना न्यूनीकरण, प्रभावकारी उद्धार तथा व्यवस्थित उपचार प्रणाली स्थापित गर्न आवश्यक जनशक्ति तयार पारिएको अर्यालले बताए।
यो प्रणाली अन्तर्गत दुर्घटनाको सूचना पाएलगत्तै एउटा समूहले जतिसक्दो छिटो घटनास्थल पुगेर भिड व्यवस्थापन गर्ने, घाइतेको अवस्था हेरी तत्काल दिनुपर्ने प्राथमिक उपचार दिने, एम्बुलेन्स मार्फत यथाशक्य छिटो अस्पताल पुर्याउने, अर्को समूहले दुर्घटनाग्रस्त सवारी साधनलाई सडकबाट पन्छाएर यातायात सञ्चालन गर्ने काम गर्छ।
साथै दुर्घटना न्यूनीकरण गर्न समुदायमा जनचेतनाका कार्यक्रमहरू सञ्चालन, जनचेतनामूलक होडिङ बोर्ड राख्ने, पर्चाहरू वितरण गर्ने काम पनि गरिन्छ।
हाललाई पृथ्वी राजमार्गको नागढुंगा-नौबिसे-मुग्लिन करिडोरमा पाइलट प्रोजेक्टका रूपमा यो प्रणाली सुरू गरिएको हो सेतोपाटीमा खबर छ।












