रास्वपाको आन्दोलन आजदेखि काठमाडौं केन्द्रित, माइतीघरमा भेला हुन आह्वान

Thankot Times

थानकोट। 

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आजदेखि काठमाडौं केन्द्रित आन्दोलन सुरु गर्दैछ।

कास्की जिल्ला अदालतले सभापति रवि लामिछानेलाई थप ७ दिन हिरासतमा राख्न प्रहरीलाई अनुमति दिए लगतै रास्वपाले आजदेखि नै काठमाडौँ केन्द्रित आन्दोलन सुरु गर्न लागेको हो।

रास्वपाले केपी शर्मा ओली नेतृत्वको सरकारविरुद्ध आज दिउँसो १ बजे माइतीघर मण्डलामा राजनीतिक प्रतिशोधविरुद्ध ऐक्यबद्धता जनाउन अपिल गरेको छ।

प्रदर्शनमा सहभागी हुन रास्वपाले सबैलाई आह्वान गरेको हो।

अब अभियानकै रूपमा अगाडि बढिसकेको बताउँदै रास्वपा नेताहरुले ओली सरकारविरुद्ध देशैभर भण्डाफोर अभियान चलाउने जानकारी दिए।

आन्दोलनको तयारीस्वरुप काठमाडौंमा उपलब्ध जिल्ला, प्रदेश र केन्द्रका नेताहरूको बैठक बसेको छ।

बैठकमा आन्दोलनलाई शान्तिपूर्ण बनाउने, व्यवस्थित गर्ने लगायत विषयमा छलफल भएको थियो।

सभापति लामिछाने पक्राउको विरोधमा रास्वपा कार्यकर्ताले गत शनिबारदेखि नै पोखरामा समेत प्रदर्शन गरिरहेको छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *