सरकारविरुद्धको आन्दोलनलाई जारी राख्ने राष्ट्रिय स्वतन्त्र पार्टीको निर्णय
थानकोट ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सरकारविरुद्धको आन्दोलनलाई जारी राख्ने निर्णय गरेको छ ।
शुक्रबार सो पार्टीको केन्द्रीय कार्यालय वनस्थलीमा बसेको केन्द्रीय समितिको अनौपचारिक बैठकले आन्दोलनलाई जारी राख्ने निर्णय गरेको नेता मनिष झाले जानकारी दिए ।
उनका अनुसार, बैठक आज पनि बस्ने छ । आन्दोलनका कार्यक्रमको स्वरूपबारे आज जानकारी गराइने छ ।
सहकारी ठगी प्रकरणमा मुछिएका पार्टी सभापति रवि लामिछाने कात्तिक २ गते काठमाडौंबाट पक्राउ परेका थिए । तर, रास्वपाले सरकारले प्रतिशोध साँधेर सभापति लामिछानेलाई पक्राउ गरेको निष्कर्ष निकालेको छ ।
पक्राउ परेलगत्तै सडक आन्दोलनमा उत्रिएको रास्वपाले बिहीबारसम्म पोखरामा प्रदर्शन गरेको थियो ।
सो पार्टीले हिजो शुक्रबारबाट काठमाडौंमा प्रदर्शन सुरु गरेको छ ।










