उपराष्ट्रपति यादवकाे उपस्थितिमा आज बलम्बुमा बहुप्राविधिक शिक्षालय उद्घाटन गरिँदै
थानकोट ।
चन्द्रागिरि नगरपालिका र दक्षिण कोरियाको संस्था ड्रिम सेयरिङ फाउन्डेशन (सोड नेपाल) को आर्थिक एवं प्राविधिक सहयोगमा चन्द्रागिरि नगरपालिका वडा नं. १२ स्थित बलम्बुस्थित बलम्बु माध्यमिक विद्यालय हातामा निर्माण भएको बहुप्राविधिक शिक्षालयको आज उद्घाटन गरिने भएको छ ।
करिब २ करोड ६४ लाख रुपैयाँको लागतमा तयार भएको भवनको उपराष्ट्रपति रामसहाय प्रसाद यादवले उद्घाटन गर्ने कार्यक्रम तय भएको चन्द्रागिरि नगरपालिकाले जनाएको छ।
उपराष्ट्रपति यादव बिहान ११ बजे बलम्बु आइपुग्ने कार्यक्रम छ । दक्षिण काेरियाली दुतावासका अधिकारीहरु समेत साे उद्घाटन समारोहमा सहभागी हुने नगरप्रवक्ता कृष्णप्रसाद खड्गीकाे भनाइ छ ।
चन्द्रागिरि नगरपालिकाको ३० प्रतिशत र फाउन्डेशनको ७० प्रतिशत लागत सहभागितामा सो भवन तयार भएको हो ।
शिक्षालयमा पठन पाठनका लागि आवश्यक प्रयोगशाला, सामग्री, फर्निचर तथा औजारहरु जडानको कार्य सम्पन्न भएको छ ।
बलम्बु माविका प्रधानाध्यापक सुमन राउतका अनुसार यस भवन करिब ६ हजार वर्गफिट क्षेत्रमा बनेको हो।
प्राविधिक शिक्षा तथा व्यावसायिक शिक्षा परिषद् (सीटीइभीटी) अन्तर्गतको पाठ्यक्रममा आधारित ब्युटिसियन, इलेक्ट्रिसियन, अटोमोबाइल मर्मत र मोबाइल मर्मत मध्ये चार विधामा स्नातक तह बराबरको बहुप्राविधिक शिक्षालयमा सीप सिकाइने गरी प्रयोगशाला तयार भएको हो ।
शिक्षालयमा अध्ययनका लागि विद्यार्थीले ब्युटिसियन, इलेक्ट्रिसियन,अटोमोबाइल मर्मत र मोबाइल मर्मत मध्ये एक विधा रोज्नुपर्ने हुन्छ।
१२ महिनाभित्र निर्माण गरिसक्ने लक्ष्यसहित २०८० भदौ ६ मा यस शिक्षालय भवनको शिलान्यास गरिएको थियो ।












