बागमती प्रदेश न्यू डायमन्ड कप खुल्ला महिला राष्ट्रिय भलिबल प्रतियोगिताको उपाधि नेपाल पुलिसलाई
थानकोट ।
बागमती प्रदेश न्यू डायमन्ड कप खुल्ला महिला राष्ट्रिय भलिबल प्रतियोगिताको उपाधि नेपाल पुलिस क्लबले जितेको छ ।
शनिबार सम्पन्न फाइनलमा सशस्त्र प्रहरीबललाई पराजित गर्दै पुलिसले उपाधि चुमेको हो । नेपाल पुलिस क्लबले सशस्त्र प्रहरीलाई २५- १६ २७-२५, २५-१९ को सोझो सेटमा पराजित गर्दै उपाधिसहित नगद रू. ५ लाख हात पार्यो ।
प्रदेश खेलकुद विकास परिषद बागमती प्रदेश तथा न्यू डायमन्ड स्पोर्ट्स क्लबको संयुक्त आयोजनामा भइरहेको प्रतियोगितामा आयोजक न्यु डायमन्डसँगै पुलिस, एपिएफ र परोपकारको सहभागिता रहेको थियो ।
दोस्रो भएको एपिएफले २ लाख ५० हजार रुपैयाँ हात पारे । तेस्रो भएको होङ्गान्जी न्यु डायमन्ड स्पोर्ट्स क्लबले १ लाख २५ हजार तथा चौथो भएको परोपकार आदर्श माध्यमिक विद्यालयले ७५ हजार रुपैयाँ हात पारेको छ ।
डायमन्डले शनिबार नै सम्पन्न खेलमा परोपकारलाई २५–१२, २५–१४ र २५–२३ को सोझो सेटमा जित निकाल्दै तेस्रो स्थान हासिल गर्यो ।















