बलम्बुस्थित नेपाल एपिएफ अस्पतालको २३औं स्थापना दिवसका अवसरमा चन्द्रागिरि नगर सम्मानित

Thankot Times

थानकोट ।

२३औं स्थापना दिवसका अवसरमा बलम्बुस्थित नेपाल एपिएफ अस्पतालले  चन्द्रागिरि नगरपालिकासहित विभिन्न संस्था एवं व्यक्तित्वहरूलाई सम्मान गरेको छ ।

सशस्त्र प्रहरी बल प्रमुख राजु अर्यालले शुक्रबार अस्पताल हातामा आयोजित एक कार्यक्रमका बीच चन्द्रागिरि नगरपालिकाका मेयर घनश्याम गिरीलाई सम्मान गरेका हुन् ।

चन्द्रागिरि नगरपालिका र नेपाल एपिएफ अस्पताल बीच निरन्तर भइरहेको सहयोग र सहकार्यमा चन्द्रागिरि नगरपालिका र नगर प्रमुखले महत्वपूर्ण भूमिका निर्वाह गर्दै आइरहेको जनाउँदै चन्द्रागिरि नगरपालिका सम्मानित भएको नेपाल एपिएफ अस्पतालद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।

वि.सं २०५८ फागुन २ गते सशस्त्र प्रहरी बलको मुख्यालय हल्चोकमा एकजना चिकित्सकसहित पाँचजना तालिम प्राप्त जनशक्तिद्वारा सेवा सुरुआत गरेको अस्पतालले वि.सं २०६० चैत ७ गतेबाट चन्द्रागिरि नगरपालिका बलम्बुमा ११० शैया सञ्चालन गरी सेवा प्रदान गरिरहेको छ ।

अस्पतालको वार्षिकोत्सवका अवसरमा सो अवसरमा संगठन प्रमुख अर्यालले नेपाल एपीएफ अस्पतालमा नव-निर्मित टेनिस कोर्ट, पेइङ फार्मेसीको उद्घाटन गरेका थिए। यसैगरी अस्पताल प्रतिबिम्ब २०८१ विमोचन, नेपाल ए. पी. एफ. अस्पताल सम्बन्धी अनलाइन गुनासो पोर्टलको उद्घाटन एव) नेपाल ए. पी. एफ. अस्पतालमा कार्यरत उत्कृष्ट कर्मचारीहरुलाई कदरपत्र वितरण गरेका थिए ।

सोही कार्यक्रममा महानिरीक्षक अर्यालले नेपाल प्रहरी अस्पतालका प्रमुख प्राविधिक प्रहरी अतिरिक्त महानिरीक्षक डा. सुन्दरप्रसाद ह्योजु, स्वास्थ्थ तथा जनसङ्ख्या मन्त्रालयका सहसचिव डा. श्रवणकुमार थापा, स्वास्थ्य सेवा विभागका इञ्जिनियर पद्या मिश्र, सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक विकास घिमिरे लगायतलाई पनि सम्मान गरेका थिए।

अस्पतालले सशस्त्र प्रहरी बलमा कार्यरत, अवकाश प्राप्त कर्मचारीका साथै सर्वसाधारण नागरिकलाई पनि सेवा प्रदान गर्दै आएको छ।

तस्वीरः नगरप्रमुखको सचिवालय तथा अस्पतालको सामाजिक सञ्जाल


Leave a Reply

Your email address will not be published. Required fields are marked *