चन्द्रागिरि नगरपालिका वडा नं. ४ बालश्रम मुक्त वडा घोषणा हुँदै
थानकोट ।
चन्द्रागिरि नगरपालिका- ४ थानकोट आँउदो आइतबार बालश्रममुक्त वडा घोषणा हुने क्रममा रहेको छ ।
एक समारोहकाबीच सो वडालाई बालश्रममुक्त वडा घोषणा गर्ने कार्यक्रम तय भएको वडाध्यक्ष कृष्णप्रसाद खड्गीले जानकारी दिए ।
बालबालिकालाई श्रममा लगाउँदा उनीहरूको मौलिक हनन् हुने भएकाले अब आइन्दा कसैले पनि बालबालिकालाई श्रमजन्य काममा लगाउन नपाइने शपथ वडाका बासिन्दाले शपथ ख्वाएर वडा बालश्रम मुक्त घोषणा हुन लागेको हो ।
घोषणा सभा अघि र्याली निक्लने र सो र्यालीले वडा परिक्रमा गरेपछि वडा कार्यालय हातामा एक समारोहका बीच वडालाई बालश्रममुक्त वडा घोषणा गरिनेछ ।
सो क्रममा स्थानीय शैक्षिक संस्थाका शिक्षक तथा विद्यार्थीहरू, संघसंस्थाका प्रतिनिधिहरू, जनप्रतिनिधिहरू, राजनीतिक दलका प्रतिनिधिहरू तथा स्थानीय बासीहरूको उपस्थिति रहने बताइएको छ ।
चन्द्रागिरि नगरका विभिन्न १० वटा वडा बालश्रम मुक्त वडा घोषणा भइसकेका छन् । पछिल्लोपटक गत महिनामा चन्द्रागिरि २ बाँडभञ्ज्याङ्ग बालश्रम मुक्त वडा घोषणा भएको थियो ।













