स्वास्थ्य बीमाको सुविधा आफू बसेकै स्थानबाट लिन सकिने, तीन महिना कुर्नुपर्ने प्रावधान हट्यो

Thankot Times

थानकोट ।

स्वास्थ्य बीमाको सुविधा आफू बसेकै स्थानबाट लिने सकिने भएको छ।

आफू अस्थायी रुपमा बसोबास गरिरहेकै स्थानमा प्रस्थान विन्दु कायम गर्ने प्रावधान मन्त्री परिषद्ले पास गरेको हो। 

स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलको स्वास्थ्य बीमा नियमावली संशोधन गरेर उक्त व्यवस्था गर्ने प्रस्ताव मन्त्रिपरिषद् बैठकले स्वीकृत गरेको उनको सचिवालयले जनाएको छ।

भनिएको छ,  ‘ स्वास्थ्य बीमाको रिफर लिन प्रथम विन्दु (गाउँ-गाउँ) नै पुग्नुपर्ने झन्झटिलो प्रावधान हटेको छ।  अब: आफू बसेकै स्थानमा (अस्थायी ठेगाना) प्रथम विन्दु छनोट गरी सोही अनुसार सेवा लिन सकिने छ।’

स्वास्थ्य बीमाको सेवा लिनका लागि तीन महिना पर्खनु पर्ने व्यवस्था गरिएकोमा त्यसलाई घटाएर एक महिनाभित्रै सेवा लिन सकिने बनाइएको छ। ‘ बीमा गरेको वा नवीकरण गरेको १ महिनामै एक्टिभेट हुनेछ र सोही अनुसार सेवा लिन सकिने छ,’ सचिवालयले भनेको छ।

त्यसगरी सबै स्वास्थ्य बीमाको प्रथम सेवा विन्दु कायम गर्ने व्यवस्था गरिएको छ। मन्त्री पौडेलले स्वास्थ्य बीमालाई प्राथमिकतामा राखेर काम गरिरहेका छन्। 

बीमा गरेको स्थानबाट अन्यत्र गएका व्यक्तिले सुविधा लिँदा त्यहीँबाट रिफर गराउनुपर्ने बाध्यता थियो। जुन प्रावधानका कारण सेवा झन्झटिलो भएको गुनासो आइरहेको थियो। यसलाई सहजिकरण गर्ने प्रतिबद्धता मन्त्री पौडेलले यसअघि नै गरेका थिए। 


Leave a Reply

Your email address will not be published. Required fields are marked *