सरकारमाथि दबाब बढाउँदै नेपाल पब्लिक क्याम्पस संघ, अर्थ मन्त्री र शिक्षा मन्त्रीसँग भेट

Thankot Times

थानकोट । 

देशभरका सामुदायिक क्याम्पसहरूको छाता संगठन नेपाल पब्लिक क्याम्पस संघका अध्यक्षसहितको टोलीले संघीय सरकारका अर्थ मन्त्री र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रीसँग भेट गरेको छ । 

बुधबार संघका अध्यक्ष एवं काठमाडाैं शिक्षा क्याम्पसका प्रमुख शत्रुध्नप्रसाद गुप्तासहितको टोलीले उपप्रधान एवं अर्थ मन्त्री विष्णु पाैडेल तथा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्तसँग छुट्टाछुटै भेट गरि माग पत्र बुझाएको हो । 

भेटका क्रममा संघका तर्फबाट अर्थ मन्त्री विष्णु पाैडेल समक्ष गत साता राष्ट्रपति रामचन्द्र पाैडेलद्धारा संघीय संसद् मा प्रस्तुत भएको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमको बुँदा नं. ७० मा समावेश भएको विषय कार्यान्वयनका लागि पर्याप्त बजेट विनियोजन तथा नीतिगत व्यवस्था गर्न ध्यानाकर्षण गराएको छ । सो बुँदामा सामुदायिक क्याम्पसहरूमा अध्यापनरत शिक्षक कर्मचारीहरूको वृत्ति विकास र पद वर्गीकरणका आधार तयार गर्ने विषय समावेश छ । 

आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम पढ्नुहोस्

सामुदायिक क्याम्पसहरू गैरनाफामूलक शैक्षिक संस्था भएकोले आगामी आर्थिक वर्षको वार्षिक बजेटमा ती क्याम्पसहरूलाई गैर नाफामूलक संस्थाहरूको सूचीमा सूचीकृत गर्नसमेत पब्लिक क्याम्पस संघले अर्थमन्त्री सँग अनुरोध गरेको संघका अध्यक्ष गुप्ताले जानकारी दिए । विश्वविद्यालय अनुदान आयोगमार्फत सामुदायिक क्याम्पसलाई हाल उपलब्ध गराइँदै आइएको अनुदानको आकार बढाउन समेत अर्थ मन्त्री समक्ष संघले अनुरोध गरेको बताइएको छ । 

देशभरका करिब ५५० सामुदायिक क्याम्पसका प्रतिनिधिहरूसँगको भेटमा अर्थ मन्त्री पाैडेलले संघका तर्फबाट प्रस्तुत गरिएको मागका विषयमा आफु सकरात्मक भएको र त्रिवि, शिक्षा मन्त्रालय, राजश्व विभाग तथा सम्बन्धित निकायसँग छलफल गरि निष्कर्षमा पुग्ने आश्वासन दिएको संघका महासचिव गोविन्द बहादुर कार्कीले जानकारी दिए । 

यस्तै, बुधबार नै संघको प्रतिनिधिमण्डलले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्तसँग पनि भेट गरेको छ ।

सो क्रममा शिक्षा मन्त्री समक्ष संघले विश्वविद्यालय अनुदानको प्रणालीमा सुधार तथा मापदण्ड निर्धारणको माग गरेको छ ।

यस्तै, नेपाल सरकारले प्रस्ताव गरेको उच्च शिक्षा सम्बन्धी कानूनलाई संशोधन गर्न बनेको विधेयकमा सामुदायिक क्याम्पसको विषय प्रवेश गराइ समस्याहरू सम्बोधन गर्न संघले आग्रह गरेको छ । सामुदायिक क्याम्पसहरूले भोग चलन गरिरहेका सार्वजनिक जग्गा तथा ती जग्गामा बनेका संरचनाका सन्दर्भमा सम्बन्धित क्याम्पसकै नाममा धनी पूर्जा तथा अन्य कानुनी व्यवस्था गर्न पहल गर्न संघले शिक्षा मन्त्री समक्ष अनुरोध गरेको छ ।

बुधबार अर्थ मन्त्री र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रीलाई भेट्न  बागमती प्रदेशका पूर्व स्वास्थ्य मन्त्री प्रदीप कटुवाल, नेपाल पब्लिक क्याम्पस संघका उपमहासचिव नेत्र न्याैपाने, महाकवि देवकाेटा क्यामपसका प्रमुख, मदन भण्डारी क्याम्पसका प्रमुख डा. बाबुराम अधिकारी नवलपरासीस्थित महाकवि देवकोटा क्याम्पस सञ्चालक समिति सदस्य एवं सुनवल नगरपालिका प्रमुख बिमला अर्याललगायत सिंहदरबार पुगेका थिए ।

नेपाल पब्लिक क्याम्पस संघले आफ्ना साझा समस्या सम्बोधनका लागि गत साता त्रिविका उपकुलपतिलाई समेत पाँच बुँदे मागपत्र बुझाइसकेको छ ।

उपकुलपतिलाई पब्लिक क्याम्पस संघले बुझायो माग पत्र, भद्र अवज्ञा आन्दोलनमा उत्रने चेतावनी

यस पछि संघले त्रिविका कुलपति एवं प्रधानमन्त्री केपी ओलीलाई समेत भेट गरि समस्या समाधानका लागि ध्यानाकर्षण गराउने बताइएको छ ।

यस्ता छन नेपाल पब्लिक क्याम्पस संघले बुधबार अर्थ मन्त्री र शिक्षा मन्त्रीसमक्ष बुझाएको माग पत्रः


Leave a Reply

Your email address will not be published. Required fields are marked *