केही दिनयता पेट्रोल पम्पमा किन लाइन छ ? यस्तो छ कारण

Thankot Times

थानकोट ।

नेपाल आयल निगम लिमिटेडको इआरपी सिस्टम मर्मत नगर्दा तीन दिनदेखि तेल आपूर्ति देशैभर ठप्प छ।

यसअघिको भण्डारण सकिएर अधिकांश पम्प बन्द हुने अवस्था आएपछि निगमका कर्मचारीको दौडधुप सुरु भएको छ।

इआरपी मर्मतका लागि अहिले निगमका कार्यकारी निर्देशक डा. चण्डिकाप्रसाद भट्ट, निर्देशक विनीतमणि उपाध्याय र उपनिर्देशक मनोजकुमार ठाकुर भक्तपुरको लोकन्थलीस्थित इआरपी कार्यालय पुगेका छन्। मर्मत गरेर सञ्चालनमा ल्याउने कोसिस भइरहेको कार्यकारी निर्देशक भट्टले बताएको नयाँ पत्रिकामा खबर छ ।

बुधबार काठमाडौं उपत्यकासहित बागमती प्रदेशमा तेल वितरण गर्ने निगमको थानकोट डिपोमा नायब कार्यकारी निर्देशक वीरेन्द्र गोइत र वितरण विभागका निर्देशक पूर्ण रिजाल आएका थिए ।

निगमले इआरपी सफ्टवेयरमार्फत तेल खरिद गर्ने पेट्रोलपम्पबाट रकम संकलन गर्ने र इआरपी बिलिङका आधारमा पम्पलाई तेल दिएर पठाउने गरेको छ । तर, वार्षिक मर्मत सम्झौताअनुसारको रकम समयमै निकासा नगर्दा इआरपी सफ्टवेयर नै अहिले बन्द छ ।

सिस्टममा आएको समस्यालाई देखाएर आइतबारयता निगमले पम्पहरूलाई तेल दिएको छैन् ।

२७ करोड रुपैयाँभन्दा बढी खर्चेर जडान गरेको इआरपी प्रणाली लागतको तुलनामा कम गुणस्तरको भएकोबारे बारम्बार प्रश्न उठ्दै आएको छ । हालसम्म सिस्टम अपग्रेडका नाममा ३४ करोड रुपैयाँभन्दा बढी खर्च भएकोबारे उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा उजुरीसमेत पुगेको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *