पहिरोले दार्चुलास्थित चौलानी नदी आंशिक थुनियो, तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह

Thankot Times

थानकोट ।

अपि हिमाल गाउँपालिका-१ स्थित भट्टार क्षेत्रमा माथिबाट खसेको पहिरोले चौलानी नदी आंशिक रूपमा थुनिएको छ।

जिल्ला प्रशासन कार्यालय दार्चुलाले शुक्रबार सार्वजनिक सूचना जारी गर्दै पहिरोका कारण नदीको बहाव घटेको र पहिरो आउने क्रम जारी रहेकाले नदी पूर्ण रूपमा थुनिन सक्ने जोखिम रहेको जनाएको छ।

नदी पूर्ण रूपमा थुनिएर एक्कासि फुटेमा तल्लो तटीय क्षेत्रमा बाढीको जोखिम बढ्न सक्ने प्रशासनको आकलन छ। सम्भावित जनधनको क्षति न्यूनीकरण गर्न नदीको तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ।

प्रशासनले सम्बन्धित स्थानीय तह तथा अन्य निकायलाई पनि सम्भावित जोखिमप्रति सजग रहन र आवश्यक पूर्वतयारी गर्न अनुरोध गरेको छ।

वर्षा तथा बाढीसम्बन्धी जानकारीका लागि ११५५ र विपद्मा मद्दत माग्न जिल्ला आपत्कालीन कार्यसञ्चालन केन्द्रको १२३४ नम्बरमा सम्पर्क गर्न सकिने प्रशासनले जनाएको छ।

त्यस्तै, उद्धार वा अन्य आपत्कालीन सहयोग आवश्यक परेमा नेपाल प्रहरीको १०० तथा सशस्त्र प्रहरी बल नेपालको १११४ नम्बरमा खबर गर्न आग्रह गरिएको छ।

प्रमुख जिल्ला अधिकारी बर्तराज पौडेलले सम्भावित जोखिमबाट जोगिन नदी आसपास नजान तथा स्थानीय प्रशासन र सुरक्षा निकायले जारी गर्ने सूचनाको पालना गर्न आग्रह गरेका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ