रातो मच्छिन्द्रनाथको भोटो यसवर्ष जेठ १८ गते आइतबार देखाउन साइत जुर्यो
थानकोट ।
काठमाडाैं उपत्यकाको प्राचीन सांस्कृतिक उत्सव ललितपुरको रातो मच्छिन्द्रनाथको भोटो देखाउन यस वर्ष जेठ १८ गतेका लागि जुरेको छ। मछिन्द्रनाथको रथजात्राअन्तर्गत भोटो देखाउने जात्रालाई मुख्य आकर्षणका रूपमा लिइन्छ।
रातो मच्छिन्द्रनाथको रथ यही जेठ १५ गते लगनखेलको थती टोलबाट जावलाखेल लैजाने तयारी हुँदैछ ।
लगनखेलको थती टोलबाट रथ तान्न साइत हेर्नु पर्ने भएकोले बिहीबार मंगलबजारको सोह्रखुट्टे पाटीमा बसेर ज्योतिषहरुले निकालेको साइतअनुसार रथ तान्ने उत्तम दिन जेठ १५ गते रहेको ज्योतिष दैवज्ञ किर्तिकिरण जोशीले बताए।
रथलाई जावलाखेल पुर्याएको चार दिनपछि अर्थात् जेठ १८ गते भोटो देखाउने जात्राको साइत जुरेको हो।
वर्षा र सहकालको देवताका रुपमा रहेको ललितपुरको रातो मच्छिन्द्रनाथको जात्रा भोटो देखाउने जात्रापछि बाजागाजाका साथ बुङ्गमति लगिएपछि यस वर्षको जात्रा सम्पन्न भएको मानिन्छ।
सो भोटो हेर्न राष्ट्रप्रमुख तथा सरकार प्रमुख लगायत जावलाखेल पुग्ने चलन छ ।













