नख्खु खोलामा बा-छोरी बचाउने चणिकलाललाई बागमती प्रदेश सरकारले डेढ लाख पुरस्कार दिने

Thankot Times

थानकोट ।

गत असोजमा ललितपुर नख्खु खोलामा आएको बाढीमा बगेका दुई जनाको ज्यान जोगाउने चणिकलाल तामाङलाई बागमती प्रदेश सरकारले नगद पुरस्कारसहित सम्मान गर्ने भएको छ।

गत असोज १२ गते नख्खु खोलाको बाढीले बगाएका रौतहट घर भई ललितपुर महानगरपालिका-२५ सुगम बस्ती टोल बस्ने ४३ वर्षीय राजु साह र उनकी छोरी ६ वर्षीया मेघनालाई उद्धार गरी बचाएका काभ्रेको तेमाल गाउँपालिका-९ का चणिकलाललाई प्रदेश सरकारले १ लाख ५० हजार रुपैयाँ पुरस्कार दिने भएको हो।

प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुन मन्त्री सुरजचन्द्र लामिछानेले चणिकलालाई गणतन्त्र दिवसका अवसरमा यही जेठ १५ गते नगद पुरस्कारसहित सम्मान गरिने जानकारी दिए।

चणिकलाललाई सम्मान गर्ने निर्णय गत असोजमै भएको थियो। अहिले गणतन्त्र दिवसका अवसरमा त्यो कार्यान्वयन गर्न लागिएको हो।

गत असोज १२ गते नख्खु खोलाको बाढीले राजु र उनकी छोरी मेघनालाई बगाएर करिब ३ सय मिटर तल पुर्‍याइसकेको थियो। त्यस क्रममा बाढीमै हेलिएर चणिकलालले उनीहरूलाई उद्धार गरी अस्पताल पुर्‍याएका थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *