पालुङमा सडक दुर्घटना प्रकरणः थानकोट-चित्लाङ सडकमा नारायणी यातायातका गाडी चल्न नदिने

Thankot Times

थानकोट ।

मकवानपुरको थाहा नगरपालिका-०३ मा सोमबार साँझ गोपाली गाउँबाट थाना बजारतर्फ जाँदै गरेको बा. ३ ख. ५९९० नम्बरको बसको ठक्करबाट ३ जना पैदलयात्रीको ज्यान गएपछि पिडित पक्षले सो बस सम्बद्ध नारायणी यातायात व्यावसायी संघले बेवास्ता गरेको गुनासो गरेका छन् ।

दुर्घटनापछि संघले जिम्मेवारी लिन र मृतक तथा घाइतेहरूको लागि क्षतिपूर्ति दिन तदारुकता नदेखाएको स्थानीयको भनाइ छ ।

मंगलबार बिहान उक्त बस व्यवसायी संघ, जनप्रनितिधि र पीडितसहितको त्रिपक्षीय छलफल भएपनि सो छलफल बिना निष्कर्ष सकिएको थियो । सो पछि स्थानीयहरूले जेठ १४ गतेबाट (बुधबार) चित्लाङ-थानकोट सडक (गणेशमान मार्ग ) भएर चल्ने नारायणी यातायात व्यावसायी संघ मातहतका भाडाका सवारीसाधनलाई गुड्न नदिने बताएका छन् ।

थाहा नगरपालिका वडा न ९ का अध्यक्ष राजकुमार बलामीद्वारा हस्ताक्षरित सूचनामा पीडित पक्ष, जनप्रतिनिधि तथा नारायणी संघका प्रतिनिधि बीच भएको छलफलमा संघले सम्झौता गर्न आनाकानी गरेको र स्थानीयको माग अनुसार बुधबारबाट थानकोट-चित्लाङ सडकमा नारायणी यातायातसँग सम्बन्धित गाडीहरूको सञ्चालन बन्द गरिने जनाइएको छ ।

साेमबार भएको दुर्घटनामा स्थानीय झम्केश्वरी माविका दुई शिक्षकसहित तीन जनाको मृत्यु भएकाे थियाे भने दुई जना घाइते भएका थिए । उनीहरूको विभिन्न अस्पतालमा उपचार भइरहेको छ।

थाहा नगरपालिका-०९ बाट जारी सूचना हेर्नुहोस्

फाइल फोटो


Leave a Reply

Your email address will not be published. Required fields are marked *