थानकोट-चन्द्रागिरि भञ्ज्याङ सडकको अवस्था बेहाल, चन्द्रागिरि केबलकारबाट सुत्केरीको उद्धार
थानकोट ।
पछिल्ला दिनमा गणेशमान सिंह मार्ग (थानकोट-चित्लाङ सडक) थप अस्तव्यस्त बनेको छ ।
सडक स्तरोन्नतिको कार्य जारी रहँदा सो सडकमा वर्षासँगै यातायात सञ्चालन थप जोखिमपूर्ण बनेको सवारी चालकहरूले बताएका छन् । साना सवारी साधनको यात्रा सो सडकमा जोखिमपूर्ण बनेको सडक प्रयोग कर्ताहरूको अनुभव छ ।
उक्त सडकको केही क्षेत्र गत साता कालोपत्रे भएपनि जोखिमपूर्ण खण्डमा सडकको अवस्था जरजर बनेको हो ।
अहिले सो सडकको करिब ३ किलोमिटर क्षेत्रमा कालोपत्रे, प्लम्ब वाल, मोड कटान, जाली तथा पर्खाल निर्माणका लागि तामाङ कन्स्ट्रक्सनले कार्य जारी राखेको छ । सो सडकको थानकोट-चन्द्रागिरि सडक खण्ड बढी कष्टकर बनेको हो, चित्लाङ तर्फपनि सडकको अवस्था धुलाम्मे र हिलाम्मे बनेको छ ।
यसैबीच शल्यक्रियाबाट सुत्केरी गराइएकी एक महिलाको चन्द्रागिरि केबलकारबाट उद्धार गरिएको छ ।
शुक्रबार थानकोट हुँदै चित्लाङ जाने क्रममा रहेकी उनी जोखिमपूर्ण सडकका कारण अलपत्रमा परेपछि चन्द्रागिरि केबलकार हुँदै भालेश्वर डाँडासम्म पुर्याइएको उनका आफन्तले बताए ।
त्यहाँबाट ट्याक्सीमा गन्तव्यसम्म पुगेकी छन् ।
देउरालीसम्म मात्रै निजी सवारी साधन गुड्न पाउने भएपनि चन्द्रागिरि हिल्ससँग समन्वय गरी केबलकारको टप स्टेशनसम्म ट्याक्सी पुर्याइपछि ती महिला गन्तव्यतर्फ लागेकी हुन् ।













