काठमाडाैंको सिफलचौर, कोटेश्वर र बल्खुबाहेकका क्षेत्रमा विरोधका कार्यक्रम गर्न निषेध

Thankot Times

थानकोट ।

जिल्ला प्रशासन कार्यालयले काठमाडौंको सिफलचौर, कोटेश्वर आकाशे पुलदेखि दक्षिण बालकुमारीतर्फ र बल्खु क्षेत्र बाहेकमा विरोधका कार्यक्रम गर्न निषेध गरेको छ ।

आइतबार प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीद्वारा जारी विज्ञप्तिमा दुई महिनासम्मका लागि विरोधका कार्यक्रम गर्न निषेध गरिएको जनाइएको छ ।

जिल्ला प्रशासन कार्यालयसँगको समन्वयमा हुने कार्यक्रमको हकमा तोकिए बमोजिम हुने जनाइएको छ ।

 स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा ३(क) बमोजिम आदेश जारी गरिएको हो ।

काठमाडौं जिल्लाको चक्रपथ र चक्रपथ भित्रका सार्वजनिक स्थानमा भेला जम्मा भई अनसन, धर्ना, घेराउ, जुलुस, प्रदर्शन तथा सभा लगायतका विरोधका कार्यक्रमहरू आयोजना गर्दा अत्यावश्यक सेवा, सार्वजनिक सेवा प्रवाह र सार्वजनिक यातायात सञ्चालनमा कठिनाइ भएको भन्ने जनगुनासो समेतलाई मध्यनजर गर्दै आदेश जारी गरिएको जनाइएको छ ।

“सार्वजनिक सम्पत्ति र समग्र शान्ति सुरक्षामा असर पर्न जाने अवस्था देखिएकोले जिल्ला सुरक्षा समिति काठमाडौंको सिफारिस समेतका आधारमा स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा (३ क) बमोजिम मिति २०८२/०२/१९ गतेदेखि लागु हुने गरी देहायका स्थानमा बाहेक बढीमा दुई महिनासम्मका लागि अनशन, धर्ना, घेराउ, जुलुस, प्रदर्शन तथा सभा जस्ता विरोधका कार्यक्रम गर्न निषेध गरेको आदेश जारी गरिएको छ,” विज्ञप्तिमा भनिएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *