आज दिनभर कस्तो रहला माैसम ? यस्तो छ जल तथा मौसम विज्ञान विभागको पूर्वानुमान

Thankot Times

थानकोट ।

आज मंगलबार देशका केही भू-भागमा  वर्षाको सम्भावना रहेको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ । 

कोसी र सुदूरपश्चिम, गण्डकी प्रदेश र कर्णाली प्रदेशको पहाडी भूभागका थोरै स्थानमा र बाँकी भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

कोसी र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा तथा बाँकी उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ ।

विभागले राति कोसी प्रदेशका थोरै स्थानमा तथा मधेस, वाग्मती, गण्डकी प्रदेशलगायत बाँकी पहाडी भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जनाएको छ । 

उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको विभागले जनाएको छ । 

“आज अघिल्ला दिनहरूको तुलनामा केही कम वर्षा हुने देखिएको छ,” मौसमविद् सञ्जिव अधिकारी भन्छन्, “आजभन्दा भोलि धेरै वर्षाको सम्भावना छ ।” 


Leave a Reply

Your email address will not be published. Required fields are marked *