गृहमन्त्री नहुँदा प्रहरीको नियमित सरुवामा असर, चन्द्रागिरिका प्रमुख युनिटका कमाण्डर फेरिने लाइनमा
थानकोट ।
गृह मन्त्री नहुँदा प्रहरीको नियमित सरुवामा असर परेको छ ।
प्रहरी उपरीक्षक (एसपी) को सरुवा अवधि पुग्दा पनि प्रहरी प्रधान कार्यालयले सरुवा गर्न सकेको छैन् ।
प्रहरीको एसपीसम्मको सरुवाको अधिकार प्रहरी महानिरीक्षक (आईजीपी) लाई नै हुन्छ । तर, सरुवाबारे आईजीपीले गृहमन्त्रीसितसमेत परामर्श गर्ने चलन छ
। योपटक भने गृहमन्त्रीको नेतृत्वसमेत प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले नै गरेका कारण प्रहरी प्रधान कार्यालयलाई सरुवाबारे केही प्राविधिक समस्या देखिएको हो ।
प्रहरी नियमावलीअनुसार, कुनै कैफियत देखिएन भने प्रहरी अधिकारीको सरुवा एक÷एक वर्षमा गर्नुपर्ने उल्लेख छ । एसपीको सरुवा भएको एक वर्ष पूरा भइसकेको छ ।
गत वैशाख १५ मा ६३ जना एसपीको सरुवा भएको थियो ।
जसमा अधिकांश एसपीहरूले जिल्ला कमान्ड सम्हालेका छन् ।
समयावधि पुगेकाहरूको समयमै सरुवा नहुँदा कार्यसम्पादनमा असर पर्ने प्रहरी अधिकारीहरू नै बताउँछन् ।
अहिले एसपी र एसएसपी मात्रै होइन प्रहरी निरीक्षकदेखि नै सरुवाको प्रक्रिया रोकिएको छ ।
प्रहरी निरीक्षक कमाण्डर रहने प्रहरी प्रभाग बलम्बु र प्रहरी नायब उपरीक्षक कमाण्डर रहने प्रहरी वृत्त थानकोटमा समेत कमाण्डर फेरबदलको प्रकृया गृहमन्त्री नहुँदा रोकिएको छ । यी दुवै यूनिटमा कमाण्डर फेरिएको १ वर्ष पूरा भइसकेको छ । प्रहरी वृत्त थानकोटको कमाण्ड डीएसपी एलिजा गिरीले २०८२ वैशाख १७ बाट सम्हालेकी हुन् । प्रहरी प्रभाग बलम्बुको कमाण्ड २०८२ वैशाख १८ गतेबाट प्रहरी निरीक्षक लक्ष्मी खड्काले लिइरहेकी छन् ।










