डीएसपी वाइबा विवादमा, छानबिनका लागि मुख्यालय तानियाे

Thankot Times

थानकोट ।

डिजल र पेट्रोलको कुपनमा सहसचिव शान्तिराज प्रसाईँसँग विवाद भएपछि डिएसपी शुभद्रा वाइवाको जिम्मेवारी खोसिएको छ ।

जितपुर सिमरा उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत (सहसचिव) प्रसाईँसँग तेलको कुपनमा विवाद भएपछि इलाका प्रहरी कार्यालय, सिमरा, बारामा कार्यरत डिएसपी वाइवाको जिम्मेवारी खोसिएको हो । जिम्मेवारी सम्हालेको पाँच महिनामै विवादमा मुछिएकी वाइवाविरुद्ध जिल्ला प्रशासन कार्यालय हुँदै प्रहरी प्रधान कार्यालयमा उजुरी परेको थियो ।

यस्तो छ विवाद हुनुको कारण
इलाका प्रहरी कार्यालयको ड्युटीमा परिचालित हुने सवारी साधनका लागि वाइवाले उपमहानगरपालिकाबाट सय–सय लिटरका दरले ४० दिनभित्र तीन पटक डिजेल र पेट्रोलको कुपन लिएकी थिइन् ।

तर जेठ १८ मा उपमहानगरले २० लिटर डिजेल र १० लिटर पेट्रोलको मात्र कुपन दिएको विषयमा वाइवाले आपत्ति जनाउँदै प्रशासकीय अधिकृत प्रसाईँकै अगाडि कुपन च्यातेकी थिइन् ।

उनले यसअघि वैशाख १० र ३१ गते पनि सय लिटरका दरले इन्धन कुपन लिइसकेकी थिइन् । उपमहानगरले भने सामान्यतया महिनामा १०० लिटर मात्र इन्धन दिने गरेको जनाएको छ । यसैबीच, उपमहानगरपालिकाका नगर प्रमुख राजन पौडेलले वाइवाले थोरै मात्रामा इन्धन दिएको भन्दै विवाद गरेको पुष्टि गर्दै जिल्ला प्रशासन कार्यालयलाई जानकारी गराएको बताए ।
सहसचिव जस्तो व्यक्तिलाई डिएसपीले गरेको व्यवहार राम्रो नभएकाले यसको छानबिनका लागि बाराका प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारीलाई लिखित रूपमा जानकारी गराएको प्रशासनलाई बताए । उनले भने, “सोही आधारमा प्रहरी प्रधान कार्यालयले पनि छानबिन सुरु गरेको छ । यसबारेमा पालिकाकै पक्षमा निष्कर्ष आउने अपेक्षा गरेका छौँ ।”

डिएसपीमाथि छानबिन सुरु
केन्द्रीय प्रहरी प्रवक्ता एसएसपी रमेश थापाले विवादबारे छानबिनका लागि डिएसपी वाइवालाई प्रहरी प्रधान कार्यालय झिकाइएको जानकारी दिए । जिल्ला प्रहरी कार्यालय, कलैयाका प्रमुख प्रहरी उपरीक्षक (एसपी) सन्तोष तामाङले पनि वाइवामाथि प्रारम्भिक सोधपुछ भइरहेको बताए । “केही सोधपुछका लागि प्रधान कार्यालयले उनलाई बोलाएको हो,” उनले भने, “यस विषयमा छलफल जारी छ ।”

विवादको सिलसिलामा डिएसपी शुभद्रा वाइवाको स्थानमा अर्का डिएसपी वेद जोशी आजै कलैयामा हाजिर हुँदै छन् । वाइवा गत पुसमा सिमरा इलाका प्रहरी कार्यालयमा सरुवा भएकी थिइन् ।

प्रहरी निरीक्षक रहँदा वाइबाले करिब १ वर्ष प्रहरी प्रभाग बलम्बुकाे कमान्ड सम्हालेकी थिइन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *