के आज दिउँसो पानी पर्छ ? यस्तो छ जल तथा मौसम विज्ञान विभागको पूर्वानुमान
थानकोट ।
देशका केही भू-भागमा आज वर्षाको सम्भावना छ ।
हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको हो ।
जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो कोसी र लुम्बिनी प्रदेशलगायत देशको पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रहनेछ । बाँकी भू-भागमा मुख्यतया सफादेखि आंशिक बदली रहनेछ ।
कोसी र लुम्बिनी प्रदेशलगायत देशका पहाडी भू-भागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।
देशका उच्च–पहाडी तथा हिमाली भू-भागका एकदुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ ।
विभागले राति कोसी, लुम्बिनी र गण्डकी प्रदेशलगायत देशको पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रहने बताएको छ । बाँकी भू-भागमा मुख्यतया मौसम सफादेखि आंशिक बदली रहनेछ ।
कोसी, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा तथा बाँकी प्रदेशका पहाडी भू-भागका एकदुई स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।
कोसी, गण्डकी र कर्णाली प्रदेशका उच्चपहाडी तथा हिमाली भू-भागका एकदुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ ।
हाल देशको पश्चिम र मध्य भू-भागमा पश्चिमी र स्थानीय वायुको प्रभाव छ ।
कोसी प्रदेशका अधिकांश भू-भागमा मनसुनी वायुको प्रभाव छ ।












