नागढुङ्गा झापड प्रकरणः इन्स्पेक्टरलाई ‘सचेत’ गराउने निर्णय, पैसा लिएको जवानले स्वीकारेनन्
थानकोट ।
नागढुंगामा ट्राफिक प्रहरीका इन्स्पेक्टरले जवानलाई कुटेको घटना छानबिन गर्न गठित समितिले प्रतिवेदन बुझाएको छ ।
प्रहरी उपरीक्षक पदमबहादुर विष्टको नेतृत्वको समितिले प्रतिवेदन बुझाउँदै इन्स्पेक्टर र जवान दुवैलाई कारबाही गर्न सिफारिस गरेको छ ।
वैशाख ३१ मा नागढुंगामा कार्यरत ट्राफिक प्रहरीका इन्स्पेक्टर जितेन्द्र शाहले प्रहरी प्रभाग नागढुंगामा कार्यरत जवान मदनराज खड्कालाई कुटपिट गरेका थिए । काठमाडौँ भित्रिन लागेको ट्रकसँग जवानले १ सय रुपैयाँ ‘घुस’ लिएको देखेपछि आफूले कुटेको इन्स्पेक्टर शाहले जिकिर गरेका थिए । तर, जवान खड्काले ट्रक चालकसँग रकम लिएको तथ्य अस्वीकार गरेका छन् । छानबिन समितिका एक जना सदस्य भन्छन्, ‘जवानले रकम लिएको अस्वीकार गरेको रातोपाटीले खबर प्रकाशित गरेको छ ।
तर, जिल्ला प्रहरी परिसर काठमाडौँले सार्वजनिक सडकमा मर्यादा विपरीत जवानलाई आक्रमण गरेको भन्दै इन्स्पेक्टरलाई ‘सचेत’ गराउने निर्णय गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौँका एक जना अधिकृत भन्छन्– ‘इन्स्पेक्टर शाहलाई सचेत गराइएको छ ।’
शाहलाई ट्राफिक प्रहरीको जिम्मेवारीबाट हटाएर प्रहरी वृत्त कीर्तिपुरमा सरुवा गरिएको छ । जवान भद्रकाली स्थित प्रहरी परिसरमा कार्यरत छन् । जवान खड्कालाई पनि कारबाही गर्ने प्रहरीको तयारी छ । परिसरका ती अधिकृत भन्छन्– ‘जवानलाई कारबाही गर्ने विषय छलफलमै छ, निर्णय भैसकेको छैन ।’
उपत्यका प्रहरी कार्यालयले नागढुंगा ट्राफिकमा इन्स्पेक्टर किरण रावतलाई पठाएको छ ।
सडकमै साहले जुनियर प्रहरीलाई चड्कन हानेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको थियो ।












