नागढुङ्गा प्रभागका इन्स्पेक्टर थापा उत्कृष्ठ प्रहरी घोषित

Thankot Times

थानकोट ।

संघीय राजधानी काठमाडाैं भित्रने र यहाँबाट बाहिरिने प्रमुख सडक नाका चन्द्रागिरि नगरपालिका-२ बाँडभञ्ज्याङ्गस्थित प्रहरी प्रभाग नागढुङ्गाका प्रमुख प्रहरी निरीक्षक हिक्मत बहादुर थापा जेठ महिनाका लागि उत्कृष्ठ प्रहरी घोषित भएका छन् ।

प्रहरी वृत्त थानकोटले वृत्त मातहतका प्रहरी यूनिटमा कार्यरत प्रहरी कर्मचारीहरूलाई कार्यसम्पादनका आधारमा हरेक महिना उत्कृष्ठ प्रहरी सम्मानका लागि प्रहरी कर्मचारी छनोट गर्दै आएको छ । जसअनुसार २०८२ जेठ महिनाका लागि प्रहरी निरीक्षक थापा उत्कृष्ठ प्रहरी कर्मचारी चुनिएको प्रहरी वृत्त थानकोटले जनाएको छ ।

काठमाडाैं उपत्यकाको मुख्य प्रवेशद्वारमा अवस्थित प्रहरी इकाईको नेतृत्व गर्दै अपराध नियन्त्रण, भन्सार राजश्व चुहावट रोकथाम, लागू औषध ओसारपसार तथा विक्री वितरणमा संलग्न व्यक्तिहरूको पहिचान तथा नियन्त्रणमा उल्लेखनीय भूमिका निर्वाह गरेको भन्दै थापालाई सम्मान गरिएको प्रहरी वृत्त थानकोट प्रमुख प्रहरी नायब उपरीक्षक एलिजा गिरीको भनाइ छ ।

थापाको नेतृत्वमा २०८२ जेठ १२ गते १२.१७६ किलोग्राम चाँदीसहित एक व्यक्ति र मिति २०८२ जेठ २२ गते २७४ ग्राम सुनसहित एक भारतीय नागरिकलाई पक्राउ गरिएको थियो भने गत शनिबार नागढुङ्गा नाकामा माइक्रो बस दुर्घटनामा हुँदा उनको नेतृत्वमा दुर्घटनाका घाइतेहरूको शिघ्र उद्दार गरिएको थियो ।

प्रहरी निरीक्षक थापाले सम्बन्धित तालुक कार्यालय तथा यस कार्यालयका नीति निर्देशनहरूलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्दै, जिम्मेवारी वहनमा उच्च दक्षता देखाउनु भएकोमा उहाँलाई यो सम्मान प्रदान गरिएको प्रहरी वृत्त थानकोटले जनाएको छ।

थापा २०८१ मंसिर अन्तिम सातादेखि प्रहरी प्रभाग नागढुङ्गाको प्रमुखका रुपमा कार्यरत छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *