मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लाग्दा गर्भवती महिलाको ज्यान गयो
थानकोट।
मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर रौतहटमा एकजना गर्भवती महिलाको मृत्यु भएको छ।
मृत्यु हुनेमा राजपुर नगरपालिका-३ डमार पोखरीया गाउँका शेख सफुलाकी श्रीमती ३५ वर्षीया गुलनाज खातुन रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी दीपक कुमार रायले न्युज कारखाना लाई बताएका छन्।
घटना विवरण अनुसार बुधबार दिउँसो साढे ३ बजे आफ्नै घरमा मोबाइल चार्जमा लगाउन जाँदा खातुनलाई करेन्ट लागेको थियो।
करेन्ट लागेर गम्भीर घाइते भएकी खातुनलाई प्रादेशिक अस्पताल गौरमा उपचारको लागि लगिएकोमा साँझ ५ बजे चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ।
मृतक खातुनको गर्भवती रहेको समेत प्रदेशिक अस्पताल गौरका मेसु डाक्टर मुरारी ठाकुरले बताएका छन्।
मृतकको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल गौरमा राखिएको र घटनाका बारेमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।


















