चन्द्रागिरिसहित काठमाडौंका विभिन्न स्थानमा विषालु सर्प सल्बलाउँदै, २२३ जनाको उपचार

Thankot Times

थानकोट ।

काठमाडौं उपत्यकामा तापक्रम बढेसँगै अत्यधिक गर्मी हुने ठाउँमा देखिने विषालु सर्पसमेत सल्बलाउन थालेका छन् ।

विषालु सर्पहरु किङ कोब्रा, मोनोकल्ड कोब्रा, हरेउ, आँदो, एक थोप्ले गोमनलगायतका सर्प काठमाडौंमा देखा पर्न थालेका हुन् ।

पछिल्लो समय, यही असार ३ गते मङ्गलबार चन्द्रागिरि नगरपालिका वडा नं. १३ स्थित श्री कङ्काली माध्यमिक विद्यालयको शौचालयको कम्बडभित्र किङ कोब्रा फेला पर्‍यो । असार ४ गते बुधबार दक्षिणकाली नगरपालिका वडा नंं ७ मा घरको पिंढी छेउमा फेरि अर्को किङ कोब्रा फेला पार्‍यो ।

यसरी दिनहुँदिन काठमाडौंमा विषालु सर्प फेला परिरहँदा यी सर्पका एक मात्र उद्धारकर्ता हुनुहुन्छ–सुबाेध आचार्य । काठमाडौं उपत्यकाको कुनै पनि क्षेत्रमा विषालु सर्प फेला परेको अवस्थामा डिभिजन वन कार्यालय, काठमाडौंले पनि आचार्यलाई नै गुहार्नुपरेको अवस्था छ ।

सर्प उद्धारकर्ता आचार्यले पछिल्लो दुई वर्षमा ७० वटा किङ कोब्रा र अरु विभिन्न प्रजातिका सर्पसहित दुई हजारभन्दा बढी सर्पको उद्धार गर्नुभएको छ ।

उहाँले भन्नुभयो, “काठमाडौं, भक्तपुर, ललितपुर, सिस्नेरी, मकवानपुर, धादिङ, काभ्रेपलाञ्चोक आसपासका क्षेत्रमा पछिल्लो दुई वर्षमा ७० भन्दा बढी किङ कोब्राको रेस्क्यु भए । अरु सर्पसमेत गरी दुई हजारभन्दा बढी रेस्क्यु भइसके । ती सर्पको रेस्क्युपछि सही वासस्थानमा छोड्ने गरिन्छ ।”

आचार्यले भन्नुभयो, “किङ कोब्रा सबैभन्दा लामो र विषालु सर्प हो । जसको टोकाइपछि औषधि, उपचार छैन भन्दा पनि हुन्छ । यसको टोकाइपछि पाँचदेखि १५ मिनेटभित्र अस्पताल पुर्‍याइसक्नुपर्ने हुन्छ । नेपालको परिवेशमा त्यो अवस्था छैन । स्युचाटार, कलङ्की, पुरानो नैकाप, गोकर्ण, गोदावरी, दक्षिणकाली साइडमा यो कोब्रा मजाले पाइन्छ ।” उहाँका अनुसार काठमाडौं उपत्यकामा पाइने र तराई क्षेत्रमा पाइने कोब्रा सर्प फरक–फरक प्रजातिका हुन्छन् ।

डिभिजन वन कार्यालयअन्तर्गतको वन तथा जैविक विविधता संरक्षण शाखाका पशु चिकित्सक डा. आशुतोष भट्टका अनुसार काठमाडौं उपत्यकाको जङ्गली क्षेत्रमा किङ कोब्रालगायतका विषालु सर्प फेला पर्नु स्वाभाविक रहे पनि मानवीय बस्तीमा देखिनु जोखिम रहेको बताउनुभयो ।

डा. भट्टले भन्नुभयो, “जङ्गली क्षेत्रमा स्वाभाविक रुपमा देखिने भयो । मान्छेको घरमा, खोरमा, विद्यालयको कक्षा कोठालगायत मानवीय बस्तीमा देखिन थालेको छ । काठमाडौंमा विषालु सर्प छैन भन्ने धारणा थियो पहिला । यो प्राकृतिक कारण नै हो ।”

उहाँले काठमाडौं महानगरपालिकाभित्र अविषालु प्रकृतिका र दक्षिणकाली, साँखु, गोकर्ण, चन्द्रागिरि, नागार्जुन क्षेत्रमा भने विषालु सर्प धेरै फेला गर्ने गरेको बताउनुभयो ।

शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल, टेकुका सिनियर मेडिकल रेकर्डर समीर अधिकारीका अनुसार पछिल्लो चार हप्तामा काठमाडौं उपत्यका वरपरका क्षेत्रबाट सर्पले टोकेका एक सय १९ जना बिरामी उपचारका लागि आएका छन् ।

उनीहरु काठमाडौं आसपासका जिल्लाहरु काभ्रेपलाञ्चोक, रामेछाप, धादिङ, नुवाकोट, भक्तपुर, मकवानपुर लगायतका क्षेत्रबाट आएको उहाँको भनाइ छ । उहाँले पछिल्लो ६ महिनामा सर्पले टोकेका दुई सय २३ जनाको उपचार भएको जानकारी दिनुभयो । हालसम्मको उपचारमा बिरामीको मृत्यु नभएको उहाँको भनाइ छ ।

गोरखापत्रबाट


Leave a Reply

Your email address will not be published. Required fields are marked *