कंकालीमा प्रधानमन्त्रीले भने- हामी मिसन ८४ मा अग्रसर छौं, अवरोध गर्नेको हिसाबकिताब हुन्छ
थानकोट ।
प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली चन्द्रागिरि नगरपालिका-१३ कंकालीस्थित मदन भण्डारी पार्कमा शनिबार आयोजित वृक्षारोपण कार्यक्रममा सहभागी भएका छन् ।
एमालेका तत्कालीन महासचिव मदन भण्डारीको ७४औँ जन्मजयन्तीका अवसरमा राष्ट्रिय युवा संघद्वारा आयोजित वृक्षरोपण कार्यक्रमको शुभारम्भ गर्दै अध्यक्ष ओलीले आफूहरुको लक्ष्य पार्टीलाई एकल बहुमतसहितको मिसन–८४ रहेको स्थितिमा पार्टीभित्र आफ्नो स्वार्थ खोज्नेहरुको हिसाबकिताब गरिने बताए । उनले भने महाधिवेशन नआउँदै पार्टीभित्र केही स्वार्थ तत्वहरुलाई महाधिवेशन लागेको छ ।
“हामी अर्जुनदृष्टिका साथ मिसन–८४ को अभियानमा छौँ । हाम्रो स्वार्थ देशको समृद्धि, विकास र सुशासन हो । यस मिसनमा सबै एकजुट भएर लाग्नुपर्ने बेलामा महाधिवेशन नआउँदै महाधिवेशन लागेको जस्तो देखाउन आवश्यक छैन”, प्रधानमन्त्री समेत रहेका नेकपा एमालेका अध्यक्ष ओलीले भने, “हाम्रा कार्यकर्तालाई महाधिवेशन लागेकै छैन् । केही स्वार्थीहरुलाई महाधिवेशन लागेको मात्रै हो । हामी त्यस्ताका पछाडि लाग्नु हुँदैन ।”
प्रधानमन्त्री ओलीले शिक्षक, विद्यार्थी र सबैको मिहिनेतका कारण यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई)मा गत वर्षको भन्दा १४ प्रतिशतभन्दा बढी विद्यार्थी उत्तीर्ण भएको बताए । आगामी वर्ष थप सुधार ल्याउने गरी काम गरिने उनको भनाइ छ ।
प्रधानमन्त्री ओलीले मौका परीक्षामा सहभागी हुने र आउने एसईईका लागि पनि देशभर महत्वपूर्ण विषयमा निःशुल्क अनलाइन कक्षा सञ्चालन गराइने जानकारी दिए ।
वृक्षारोपण कार्यक्रममा नेकपा एमाले सम्बद्ध विभिन्न तह र तप्काका सयाैं नेता, कार्यकर्ता तथा शुभेच्छुकहरुको उपस्थिति रहेको थियो ।












