मोटरसाइकल चोरीमा संलग्न तीनजना प्रहरीको नियन्त्रणमा
थानकोट ।
मोटरसाइकल चोरीमा संलग्न तीनजनालाई काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ ।
बागमती प्रदेश ०२–०५५ प ४०६८ नम्बरको मोटरसाइकलसहित धादिङको गजुरी गाउँपालिका–७ घर भई हाल काठमाडौंको पशुपति बस्ने २२ वर्षीय सन्तोष कोइराला र सोही ठाउँ बस्ने २७ वर्षीय सजिर श्रेष्ठलाई काठमाडौंको पशुपति मन्दिर नजिकैबाट प्रहरीले नियन्त्रणमा लिएको हो ।
उक्त मोटरसाइकल काठमाडौंको बालाजुबाट हराएको भनि गोरखाका सुरज तामाङले काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयमा निवेदन दिएका थिए ।
नियन्त्रणमा आएका दुवैजनालाई आवश्यक अनुसन्धानका लागि प्रहरी वृत्त बालाजुमा पठाइएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक दिपक गिरीले जानकारी दिए ।
त्यस्तै, काठमाडौंकै गोकर्णेश्वर नगरपालिका–६, बेशीगाउँबाट बागमती प्रदेश ०२–०२२ प ३४४८ नम्बरको मोटरसाइकलसहित काभ्रेपलाञ्चोक घर भई काठमाडौंको जोरपाटी बस्दै आएका ३७ वर्षीय देवराज योञ्जनलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
सो मोटरसाइकल भने काठमाडौंको बूढानीलकण्ठबाट हराएको भनि सोलुखुम्बु घर भई हाल काठमाडौंको चाबहिल बस्ने काजी शेर्पाले काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयमा निवेदन दिएका थिए ।
नियन्त्रणमा आएका योञ्जनलाई आवश्यक अनुसन्धानका लागि प्रहरी वृत्त बौद्ध पठाइएको प्रवक्ता गिरीले बताए ।
आफ्नो सवारीसाधन सुरक्षित स्थानमा पार्किङ गर्ने, ह्विल लक, चेन लक, ह्यान्डिल लक, डिस्क लक, लगायत सुरक्षा साइरनहरू जडान गर्नुका साथै मानिसहरूको आवत जावत नहुने एकान्त स्थानमा पार्किङ नगर्न प्रहरी उपरीक्षक गिरीले अनुरोध गरेका छन् ।


















