नामिबियासँग नेपाल फेरि निरिह

Thankot Times

थानकोट ।

लज्जास्पद ब्याटिङ प्रदर्शनसँगै नेपाल आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजमा नामिबियासँग ६३ रनले पराजित भएको छ । नामिबियासँग लगातार दोस्रो हारसँगै नेपाल अंक तालिकामा छैटौं स्थानमा पुगेको छ ।

जितको लागि २ सय रनको विजयी लक्ष्य पछ्याएको नेपाल ३७.५ ओभरमा १ सय ३६ रनमा अल आउट भयो । नेपालका दीपेन्द्रसिंह ऐरीले ५५ बलमा ३ चौका सहित सर्वाधिक ३८ रन बनाए ।

तीव्र गतिका बलर ज्यान फिंलिकको पहिलो ओभरको चौथो बलमा ओपनर कुशल भुर्तेल शून्यमा रुबेन ट्रम्पलम्यानबाट क्याच भए । फ्रिंलिककै पाँचौं ओभरको तेस्रो बलमा देव खनाल डिप मिडविकेटमा बेन सिकोन्गोबाट १ रनमा क्याच आउट भए ।
सुरुवातमा अम्पायरले देवको उक्त बललाई छक्का दिएका थिए । तर नामिबियाका खेलाडीले फिल्डर बेनलाई सोधेपछि पछि आउट भएका थिए । हेर्दा फिल्डरले बाउन्ड्री छोएको देखिन्थ्यो ।

आसिफ शेख स्पिनर बेर्नार्ड शोल्ट्जको १४ औं ओभरको दोस्रो बलमा डिप एक्स्ट्रा कभरमा कप्तान जेहार्ड एरास्मसबाट ३४ रनमा क्याच भए । उनले ३२ बलमा ६ चौका प्रहार गरे । बेर्नार्डको १९ औं ओभरको चौथो बलमा रोहित कटविहाइन्ड १७ रनमा आउट भए । रोहितले ५० बल खेलेका थिए । रोहित अम्पायरको निर्णयमा भने सन्तुष्ट थिएनन् ।

२३.१ ओभरमा ८२–५ को अवस्थामा पुगेको नेपाललाई दीपेन्द्र र आदिल अन्सारीले ३६ रनको साझेदारी गर्दै खेलमा फर्किने संकेत दिएका थिए । तर आदिल ठूलो सटको चक्करमा २० रनमा जेजे स्मितबाट क्याच आउट भए । आदिलले ३० बलमा २ चौका र १ छक्का प्रहार गरे । दीपेन्द्र ३५ औं ओभरको पाँचौं बलमा दुई रन लिने धुनमा रन आउट भएपछि नेपालको जित कठिन बनेको थियो ।

पवन सरार्फ १० रनमा अविजित रहँदा सोमपाल कामी १ , बसिर अहमद र सन्दीप लामिछाने शून्यमा आउट भए । नामिबियाका स्पिनर बेर्नार्ड शोल्ट्जले ९.५ ओभरमा २ मेडनसहित २२ रन खर्चेर ५ विकेट लिए । जान फ्रिंलिकले १० ओभरमा २ मेडनसहित २६ रन खर्चेर २ विकेट लिए ।

त्यसअघि कम्बसदुन न्यू ग्राउन्ड, एयरमा टस जितेर पहिला ब्याटिङ थालेको नामिबिया ४९.२ ओभरमा १ सय ९९ रनमा अल आउट भयो । नामिबियाका कप्तान जेहार्ड एरास्मस ७० बलमा ४ चौका र १ छक्कासहित सर्वाधिक ५३ रन बनाए । खराब सुरुवात गरेपनि चौथो विकेटका लागि एरास्मस र जान निकोल लोफ्टी इटनले ६८ रनको साझेदारी गर्दै नामिबियालाई खेलमा फर्काएका थिए ।

नेपालका कप्तान सन्दीप लामिछानेले १० ओभरमा २ मेडन राख्दै २९ रन खर्चेर ४ विकेट लिए । सोमपाल कामीले १० ओभरमा ३३ रन खर्चेर २ विकेट लिए । दीपेन्द्रसिंह ऐरीले ३.२ ओभरमा ९ रन खर्चेर २ विकेट लिए । बसिर अहमदले ९ ओभरमा ४९ रन खर्चेर १ विकेट लिए ।

नेपाल पहिलो खेलमा नामिबियासँग ४० रनले पराजित भएको थियो । स्कटल्यान्डलाई ५ विकेटले हराएको थियो । अन्तिम खेल स्कटल्यान्डसँग आइतबार खेल्नेछ । नेपाल १९ खेलमा १० मा हार र ८ मा जितका साथ १७ अंकका साथ छैटौं स्थानमा झरेको छ । नामिबिया १८ खेलमा ९ मा जित र ९ मा हारका साथ १८ अंक जोड्दै पाँचौं स्थानमा छ ।

ओमान ३६ खेलमा २१ मा जित र १३ मा हारका साथ ४४ अंक जोड्दै शीर्षस्थानमा छ । स्कटल्यान्ड २३ खेलमा १५ मा जित र ६ मा हारका साथ ३२ अंक जोड्दै दोस्रो स्थानमा छ । युएई २२ खेलमा १२ मा जित र ८ मा हारसहित २६ अंकका साथ तेस्रो स्थानमा छ ।

अमेरिका २४ खेलमा ११ मा जित र १२ मा हारका साथ २२ अंक जोड्दै चौथो स्थानमा छ । नामिबिया १८ खेलमा ९ मा जित र ९ मा हार सहित १८ अंकका साथ पाँचौं स्थानमा छ । नेपाल १९ खेलमा ८ मा जित र १० मा हारका साथ १७ अंक जोड्दै छैटौं स्थानमा छ । पपुवा न्युगिनी २० खेलमा १ मा जित र १९ मा हारका साथ पुछारमा छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ