रसुवामा भीषण बाढीः नेपाल प्रहरीका ३ जनासहित १८ जना बेपत्ता
थानकोट ।
रसुवा जिल्लास्थित नेपाल-चीनको सिमानामा रहको ल्हेन्दे खोलामा मंगलबार बिहान आएको बाढीमा परी १८ जना बेपत्ता भएका छन् ।
रसुवाका प्रमुख जिल्ला अधिकारी अर्जुन पौडेलका अनुसार बाढीमा परी छ जना नेपाली कामदार, छ जना चिनियाँ कामदार, तीन जना प्रहरी र तीन जना गाडी चालक हराइरहेका छन् ।
बाढीमा फसेका नौ जनाको उद्धार गरिएको छ ।
अहिले ३० देखि ३५ कामदार फसेको, तर उनीहरु सुरक्षित रहेको प्रमुख जिल्ला अधिकारी पौडेलले जानकारी दिए ।
रसुवाको गोसाईकुण्ड गाउँपालिका २ मा गएराति वर्षासँगै आएको बाढीले नेपाल-चीन जोड्ने मितेरी पुलसँगै टिमुरेमा रहेको भन्सार कार्यालय परिसर (यार्ड) नै बगाएको हो ।
परिसरमा रहेका धेरै गाडी बाढीले बगाएको छ ।
छिमेकी चीनतर्फ ठूलो पानी परेका कारण बाढी आएको जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ ।
बाढीले पुल बगाएसँगै रसुवा हुँदै चीनसम्म सडकमार्गको सम्पर्क बिच्छेद भएको छ ।
रसुवा गोसाइँकुण्ड गाउँपालिका-२ तातोपानीको पासाङ ल्हामु राजमार्गअन्तर्गत स्याफ्रुबेँसी-रसुवागढी सडकखण्डमा भोटेकोशी नदीमा आएको बाढीले सडक कटान र पहिरोका कारण सडक अवरुद्ध भएको छ ।
रसुवागढी हाइड्रोपावरमा पनि क्षति पुगेको छ ।
बाढी प्रभावित क्षेत्रमा नेपाली सेना, नेपाल प्रहरी, स्थानीय निकाय लगायतको प्रयासमा खोजी तथा उद्दार कार्य जारी रहेको बताइएको छ ।


















