त्रिशूली नदीको तटीय क्षेत्रमा सतर्क रहन ट्राफिक प्रहरीको आग्रह
थानकोट।
रसुवाको गोसाईंकुण्ड गाउँपालिका वडा नम्बर–२ स्थित रसुवागढीमा बाढीले क्षति गरेपछि तल्लो तटीय क्षेत्रमा सतर्कता अपनाइएको छ । सोमबार राति नेपाल–चीन सिमानाको लण्डे खोला हुँदै भोटेकोशीमा बढेको बहावका कारण १८ जना सम्पर्क विहीन भएका छन् ।
नदीको सतह थप बढ्न सक्ने आकलन गरेर ट्राफिक प्रहरीले धादिङ, नुवाकोट र चितवन स्थित त्रिशूली नदी प्रभावित क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरेको छ । त्रिशूलीको तटीय क्षेत्रमा सञ्चालित विद्यालयका विद्यार्थी र सड्क किनारामा पसल सञ्चालन गरेर गुजारा गर्नेहरूलाई सर्तकता अपनाउन आग्रह गरिएको राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय रामनगर, चितवनका एसपी नरेश सुवेदीले रातोपाटीलाई बताए ।
ट्राफिक प्रहरीले त्रिशूली किनारामा माछा मार्न जानेहरूलाई पनि फर्काएको छ । एसपी सुवेदी भन्छन्, ‘सम्भावित दुर्घटना न्यूनीकरण गर्न सड्क र नदी किनारमा माइकिङ गर्ने काम भइरहेको छ ।’
त्यस्तै, जिल्ला प्रहरी कार्यालय चितवनले पनि त्रिशूली र नारायणी नदी किनारको बस्तीमा माइकिङ गरेर असुरक्षित ठाउँमा नबस्न आग्रह गरेको छ । जिल्ला प्रहरी कार्यालय चितवनका डीएसपी रविन्द्र खनालले माइकिङ गरेर नदी किनारमा सचेतना अपनाउन आग्रह गरेका हुन् ।


















