टोखामा ईभी माइक्रोको ठक्करबाट पठाओ चालकको मृत्यु

Thankot Times

थानकोट ।

काठमाडौँ टोखा नगरपालिका–६ स्थित ग्राण्डी सडक खण्डमा मंगलबार दिउँसो साढे ३ बजे ईभी माइक्रोको ठक्करबाट पठाओ चालक सोनाम योञ्जनको मृत्यु भएको छ।

बा.प्र–०१–००२ ज ७३७८ नम्बरको ईभी माइक्रोले बा.प्र–०२–०४४ प ६४०५ नम्बरको स्कुटरमा सवार २४ वर्षीय योञ्जनलाई ठक्कर दिएको थियो। सर्लाहीको हरिवन नगरपालिका–१ बिलन्दी घर भई हाल भक्तपुरको थलीमा बस्दै आएका उनी गम्भीर घाइते भएका थिए। उपचारका क्रममा ग्राण्डी अस्पतालमा उनको मृत्यु भएको हो।

मृतकका बुवा राजकुमार योञ्जनले घटना शंकास्पद भएको बताएका छन्। उनका अनुसार, स्कुटर आफ्नै लेनमा हुँदाहुँदै अगाडिबाट आएको माइक्रोले ठक्कर दिएको हो।

परिवारले घटनाको निष्पक्ष छानबिन र दोषीमाथि कडा कारबाहीको माग गर्दै अहिलेसम्म शव बुझ्न मानेको छैन। मृतक सोनाम मलेसियामा रोजगारी गरेर फर्किएका थिए र एक वर्षदेखि पठाओमा संलग्न थिए।

चक्रपथ प्रहरीले पीडित पक्षलाई छलफलका लागि बोलाएको छ। घटनासम्बन्धी अनुसन्धान जारी रहेको बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *