साफ यु-२० च्याम्पियनसिप: उपाधि बंगलादेशलाई, अन्तिम खेलमा नेपाल ४-० ले पराजित

Thankot Times

थानकोट ।

नेपाल सोमबार बंगलादेशको टिमबाट ४–० ले पराजित भएसँगै यू–२० साफ वुमेन्स च्याम्पियनसिप २०२५ को उपविजेतामै सीमित भएको छ ।

उपाधि जित्नका लागि नेपाललाई प्रतियोगिताको अन्तिम तथा अघोषित फाइनल खेलमा बंगलादेशमाथि निश्चित जित आवश्यक थियो ।

तर बंगलादेशको ढाकास्थिति बसुन्धरा किङ्स एरेनामा भएको खेलमा घरेलु टिम बलियो साबित भयो । उसको प्रभावशाली जितमा सागोरिका नायिक रहिन् र उनले ह्याट्रिक सहित चार गोल गरिन् । बंगलादेशी राष्ट्रिय टिमकी सदस्य समेत रहेकी उनले खेलको ८, ५१, ५८ र ७७ औं मिनेटमा गोल गरिन् ।

डबल राउन्ड रोबिनको आधारमा सञ्चालन भएको प्रतियोगिताका यो नतिजापछि बंगलादेश सबै छ खेलमा विजयी रह्यो र १८ अंक बटुलेर शीर्ष स्थानमा रह्यो । नेपाल भने १२ अंकमा सीमित रहेर दोस्रो स्थानमा रह्यो । नेपाल पराजित दुवै खेल बंगलादेशविरुद्ध नै रह्यो ।

भुटान र श्रीलंकामाथि भने नेपाल सजिलै विजयी रहेको थियो । कुल चार टिमको सहभागिता रहेको प्रतियोगितामा भुटान छ र श्रीलंका शून्य अंकमा रह्यो ।

भुटानले दिनको पहिलो खेलमा श्रीलंकालाई ५–० ले हराएको थियो । भुटानले प्राप्त गरेका दुवै टिम श्रीलंकाविरुद्ध रहेको थियो ।

तस्बिरः एन्फा


Leave a Reply

Your email address will not be published. Required fields are marked *