सतुङ्गलका किशोर मोबाइल अफ गरेर ‘कमेडी दरबार’ सुटिङस्थल पुगे, परिवारलाई दिनभर तनाव !
थानकोट ।
मंगलबार बिहानै सतुङ्गलबाट एक जना किशोर एकाएक सम्पर्क विहिन भए ।
घरबाट निस्किएको केही समयपछि उनको मोबाइल स्वीच्ड अफ भएको थियो ।
भर्खरै माध्यमिक शिक्षा परिक्षा दिएका १५ वर्षका किशोर बिहान करिब ८ः१० मा घरबाट निस्किएका थिए ।
परिवारले उनी निस्किएको थाहा पाएनन् । केही बेरपछि फोन गर्ने प्रयास गर्दा मोबाइलको स्वीच अफ भइसकेको थियो ।
त्यसपछि परिवारका सदस्यहरु आत्तिए र सबैतिर सोधखोज गर्न थाले । तर केही पत्तो लागेन । त्यसपछि उनीहरु प्रहरीमा गए ।
सुरुमा थानकोट प्रहरी वृत्तमा गएर जानकारी गराइयो ।
घटना विवरण सुनेपछि अपहरणको आशंकामा प्रहरीले काठमाडौं महाशाखामा उजुरी दिन सुझायो । त्यसपछि उनीहरु महाशाखा पुगे । महाशाखाले पनि तत्काल प्रहरी परिचालन गर्यो ।
महाशाखामा कार्यरत सई राजन खड्कासहितको टोली अनुसन्धानका लागि सुरुमा बालकको घरमा पुग्यो । त्यहाँ वरिपरिको सीसीटीभी फुटेजहरु हेरिए । परिवारका सदस्यहरुले बालकले केही दिनदेखि कमेडी दरबारको सुटिङ हेर्न जाने कुरा गरेको सुनाए । त्यसपछि महाशाखाले प्रहरीकै अर्को टोली कमेडी दरबारको सुटिङ स्थल रहेको पुतलीसडकस्थित स्टार मलमा पठायो ।
आज कमेडी दरबार सुटिङको दिन भएकाले स्टारमलमा भिडभाड थियो । किशोरका एक आफन्तसहित प्रहरी हलभित्रै प्रवेश गर्यो । र, दर्शक दिर्घामा भेटिए किशोर जो कलाकारहरुको प्रस्तुतिमा मजा लिइरहेका थिए । प्रहरीले पछाडि ढोकाबाट छिरेर किशोरलाई बाहिर निकाल्यो । अनि आफन्तले उनलाई लिएर हिँडे ।
किशोरले आफू कमेडी दरबार हेर्न आएकाले मोबाइल स्वीच्ड अफ गरेको बताएका छन् । प्रहरीले मोबाइलको ट्रयाकिङ गर्दा अन्तिम लोकेसन सतुंगल नै देखाएको थियो ।
काठमाडौं महाशाखाका प्रहरी सई राजन खड्काले परिवारजनले बालक हराएको उजुरी लिएर आएपछि खोजतलास गरिएको बताए । घटनामा बालकमाथि अपहरणजन्य कुनै पनि क्रियाकलाप नपाइएको उनको भनाइ छ, नेपाल प्रेसमा खबर छ ।
पछिल्लो समय कमेडी दरबार सर्वाधिक लोकप्रिय रियालिटी शोमा पर्छ । प्रत्येक हप्ताको मंगलबार कमेडी दरबारको सुटिङ हेर्न बाक्लै भिड लाग्ने गरेको छ । हेर्न आउने दर्शकलाई कुनै पनि शुल्क लिने गरिएको छैन् ।
पछिल्लो समयमा भिड थाम्न गाह्रो परिरहेको निर्माण पक्ष बताउँछ ।












