चन्द्रागिरि हिल्सलाई ट्रीप एडभाइजर ‘ट्राभलर्स च्वाइस अवार्ड’ !
थानकोट ।
विश्वभरका होटल र पर्यटकीय गन्तव्यबारे जानकारी दिने साइट ‘ट्रिप एडभाइजर’ ले थानकोटस्थित चन्द्रागिरि हिल्सलाई ट्रीप एडभाइजर ‘ट्राभलर्स च्वाइस अवार्ड’ को मान्यता दिएको छ ।
पर्यटकहरूको रोजाइ र मनपराएको आधारमा दिइने ट्राभलर्स च्वाइस अवार्डका लागि चन्द्रागिरि हिल्स ग्राह्य भएको चन्द्रागिरि हिल्सले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।
हिल्सले भनेको छ- हामीलाई ट्रीप एडभाइजर ‘ट्राभलर्स च्वाइस अवार्ड’ मा मान्यता दिइएको छ, जसले हामीलाई विश्वभरका शीर्ष १०% गन्तव्यहरूमा राखेको छ।
हाम्रा सबै पाहुनाहरूलाई तपाईंको माया, समर्थन र बहुमूल्य समीक्षाको लागि धन्यवाद।

अमेरिकी कम्पनी ट्रीप एड्भाइजरले विश्वभरका उत्कृष्ट पर्यटकीय ठाउँ र होटल मूल्यांकन तथा त्यहाँ पुग्ने पर्यटकहरूले दिएको समीक्षा (रिभ्यू)का आधारमा हरेक वर्ष विभिन्न विधामा अवार्ड तथा मान्यता दिँदै आएको छ।
नेपालको दोस्रो तथा काठमाडाैं उपत्यकाको पहिलो केबलकार चन्द्रागिरि केबलकार हुँदै आर्थिक वर्ष २०८१ मा ६ लाख २६ हजार ७ सय ८५ जनाले चन्द्रागिरि हिल्सको भ्रमण गरेको कम्पनीले जनाएको छ। जसमध्ये स्वदेशी यात्रीको संख्या ४ लाख ५९ हजार ८ सय ९४ जना, सार्क मुलुकका १ लाख ४३ हजार ६ सय ४० जना तथा अन्य मुलुकका २३ हजार २ सय ५१ जना रहेको बताइएको छ ।












