बागमती प्रदेशमा नेपाली काँग्रेसकाे किचलाे मिलाउन हेटौंडा पुगे सांसद केसी

Thankot Times

थानकोट ।

नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेताविरुद्ध एवं मुख्यमन्त्री बहादुर सिंह लामाविरुद्ध अविश्वास प्रस्ताव दर्ता भएको सन्दर्भमा पार्टी केन्द्रबाट केन्द्रीय पर्यवेक्षकको रूपमा खटाइएका सांसद् राजेन्द्र कुमार केसी हेटाैंडा पुगेका छन् ।

सोमबार बिहान सामाजिक सञ्जालमा सांसद् केसीले लेखेका छन्ः

नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेताविरुद्ध अविश्वास प्रस्ताव दर्ता भएको सन्दर्भमा पार्टी केन्द्रबाट केन्द्रीय पर्यवेक्षकको रूपमा खटाइएको छु। सोहीअनुसार तोकिएको जिम्मेवारी पूरा गर्न म हाल हेटौंडा आएको छु। आज बिहानैदेखि सम्बन्धित साथीहरूसँग छलफलमा व्यस्त रहने भएकाले आवश्यक समन्वयका लागि सम्पर्क गर्न सक्नुहुन्छ।

नेपाली कांग्रेसकै नेताबीच जारी शक्ति संघर्षले बागमती प्रदेश सरकार विघटनको संघारमा पुगेको परिस्थिति सम्हाल्ने प्रयास जारी राखेको नेपाली कांग्रेसले केन्द्रबाट सहजीकरण गर्ने जिम्मा आइतबार सांसद राजेन्द्र कुमार केसीलाई दिएको थियो । सोही अनुरुप केसी हेटाैंडा पुगेका हुन् ।

मुख्यमन्त्री बहादुर सिंह लामा र प्रदेश कार्यसमिति सभापति इन्द्रबहादुर बानियाँ दुवै देउवा पक्षकै नेताहरु हुन् ।

बजेटमा आएको असन्तुष्टिको मौकामा बानियाँले लामालाई संसदीय दलको नेताबाट हटाउन शुक्रबार अविश्वास प्रस्ताव दर्ता गराएका थिए ।

संसदीय दलको नेता मुख्यमन्त्री बन्न पाउने भएकाले लामालाई हटाएर बानियाँ दलको नेता बन्ने प्रयासमा छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *