सभामुख घिमिरे स्वीट्जरल्यान्ड पुगे, उपसभामुख राना चीन भ्रमण सकेर स्वदेश फिर्ता
थानकोट ।
प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे आइतबार स्वीट्जरल्यान्डको जेनेभा प्रस्थान गरेका छन् । उनी बेलुका साँझ ६ बजे जेनेभाका लागि प्रस्थान गरेका हुन् ।
सभामुख घिमिरेले जेनेभामा आयोजना हुने सभामुखहरूको सम्मेलनमा दुई वटा सेसनमा सम्बोधन गर्नेछन् । पहिलो सेशनमा ‘शान्ति, न्याय र समृद्धिका लागि संसदीय सहकार्य’ र दोस्रो सेशनमा ‘हाम्रो डिजिटल भविष्य निर्माणमा सांसदहरूको भूमिका’ बिषयमाथी सम्बोधन गर्नेछन् ।
यता उपसभामुख इन्दिरा राना जनवादी गणतन्त्र चीनको ६ दिने औपचारिक भ्रमण सम्पन्न गरी हिजो राति स्वदेश फर्किएकी छन् ।
चीनको हेनान प्रान्तमा आयोजित कार्यक्रममा सहभागी भएर उपसभामुख राना आइतबार राति ११.३० बजे स्वदेश फर्किएकी हुन् । उपसभामुख राना साउन ७ गतेदेखि ११ गतेसम्म आयोजित साङ्घाई सहयोगमञ्च, मिडिया र ‘थिङ्क ट्याङ’ शिखर सम्मेलनमा सहभागी भएकी थिइन् ।
सो कार्यक्रममा उनले “विकासको लागि शान्तिपूर्ण र स्थिर वातावरणको सुरक्षामा नेपालको दृष्टिकोण” विषयमा सम्बोधन गरेकी थिइन् भने हेनान प्रान्तका अधिकारीहरूसँग भेटघाट गर्नुका साथै सोही प्रान्तमा अवस्थित झेङझोउ सहरलगायत विभिन्न स्थानको अवलोकन भ्रमणसमेत गरेकी थिइन् ।
उपसभामुख राना नेतृत्वको प्रतिनिधि मण्डलमा सङ्घीय संसद् सचिवालयका उपसचिव जगदीश न्यौपानेसमेत सम्मिलित थिए ।
उनी दुई सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गदै साउन ६ गते त्यस तर्फ प्रस्थान गरेकी थिइन् ।












