नक्कली सुन र विदेशी मुद्राबाट ठगी गर्ने तीन जना पक्राउ

Thankot Times

थानकोट ।

नक्कली सुन र नक्कली विदेशी मुद्राको प्रयोग गरी काठमाडौंका विभिन्न स्थानमा ठगी गर्दै हिँड्ने गिरोहका तीन सदस्यलाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा सिन्धुली दुधौली नगरपालिका–१० का ४७ वर्षीय बिमल तामाङ, दुधौली नगरपालिका–१२ का ३९ वर्षीय लालबहादुर घिसिङ र खोटाङ दिक्तेल मझुवागढी नगरपालिका–१४ का ३९ वर्षीय भक्तबहादुर गदाल विक रहेका छन्। उनीहरू हाल ललितपुर, बूढानीलकण्ठ र भक्तपुरमा बसोबास गर्दै आएका थिए।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले साउन १२ गते विभिन्न स्थानमा छापा मारेर उनीहरूलाई पक्राउ गरेको हो।

प्रहरीका अनुसार तामाङ र घिसिङ पहिले पनि ठगी तथा लुटपाटमा संलग्न थिए भने गदाल सुनको गरगहना किन्ने नाममा संलग्न देखिएका छन्।

उनीहरूले उपत्यकामा बसोबास गर्ने सोझा साझा महिला र वृद्ध व्यक्तिहरूलाई लक्षित गर्दै ‘सक्कली सुन’ भन्दै नक्कली सुन देखाएर ठगी गरेका थिए। “मलाई समस्या परेको छ, यो सुन राख्नूस्, साटोमा तपाईँसँग जे गरगहना वा नगद छ दिनूस्” भन्ने जालसाजी शैलीमार्फत उनीहरूले ठगी गर्दै आएका थिए।

यस्तै, केही घटनामा साउदी रियाल तथा अन्य विदेशी मुद्रा देखाई एक-दुईवटा सक्कली नोटको बिटोमा कागज राखेर “सस्तोमा विदेशी नोट दिन्छु” भन्दै विश्वास जितेर ठगी गरेको खुलेको छ।

प्रहरीले उनीहरूबाट ठगी तथा लुटपाटमा प्रयोग भएको ना.५७प १५१६ नम्बरको स्कुटर, ४ थान नक्कली सुनको ढिक्का र सुन पसलबाट बरामद गरिएको सुन जस्तो देखिने पहेँलो धातु १७.६ ग्राम बरामद गरेको छ।

पक्राउ परेकाहरू उपर थप अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौँमा पठाइएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *