गणेशमान सिंह सडक मार्गको निरीक्षण गर्न सेतो पहरो पुगे यातायात मन्त्री दाहाल

Thankot Times

थानकोट ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले गणेशमान सिंह मार्ग (थानकोट-चित्लाङ सडक)को स्तरीकरणलाई गति दिन निर्देशन दिएका छन् ।

बिहीबार सो सडकको निरीक्षण पछि उनले काठमाडौँ जोड्ने छोटो यो सडक आर्थिक विकास र समृद्धिको सहयोगी समेत बन्न सक्ने बताए ।

यो सडकले मकवानपुरको कृषि उपज काठमाडौँसम्म लैजान तथा पर्यटकीय क्षेत्रको विकास गर्न समेत सहयोग पुर्‍याउने भएकाले यसले आर्थिक विकासलाई पनि टेवा पुर्‍याउने विश्वास व्यक्त गरे। निर्धारित समयमा काम पूरा गर्न सडक विभागलाई निर्देशन दिँदै उनले कुनै पनि योजना तथा आयोजनामा हुने ढिलासुस्ती अन्त्य गर्न समेत निर्देशन दिए ।

उनले विकासका संरचनाहरूले नागरिकको जीवनमा समृद्धि ल्याउन सक्नुपर्ने बताए।

यो सडक समेत आर्थिक विकासका दृष्टिकोणले महत्त्वपूर्ण रहेकाले निर्माणमा तदारुकता दिनुपर्ने बताए।

यस्तै सोही क्षेत्रका प्रतिनिधिसभा सदस्य एवम् नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले मकवानपुर तथा काठमाडौँबासीका लागि मात्र नभई पूर्वी नेपालसहित बागमती, मधेश र लुम्बिनीसँगको सम्पर्कका लागि समेत यो सडक महत्त्वपूर्ण रहेको बताए।

यहाँका बासिन्दाको जीवनसँग प्रत्यक्ष सरोकार राख्ने र आर्थिक विकासका लागि समेत बहुउपयोगी हुने अपेक्षा राखिएको यो सडक बिना अवरोध र ढिलाइ जतिसक्दो छिटो पूरा गराउन आवश्यक रहेकोमा जोड दिए ।

सडक विभागका महानिर्देशक डा.विजय जैसीले भने कुनै पनि ढिला सुस्ती हुन नदिई निर्माण कार्यलाई गति दिने बताएका छन् ।

सङ्घीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालय काठमाडौँका प्रमुख शुभराज न्यौपानेका अनुसार सो सडक स्तरीकरणको ठेक्का लागि काम अघि बढी सकेको छ ।

अनुगमनमा प्रधानमन्त्रीका आर्थिक सल्लाहकार डा. युवराज खतिवडा, बुद्धिजीवी सङ्गठनका अध्यक्ष इन्जिनियर गजेन्द्र थपलिया लगायत सहभागी रहेका थिए ।

सडक डिभिजन काठमाडौँका प्रमुख नारायणदत्त भण्डारीका अनुसार यो सडक निर्माणका लागि २ प्याकेजमा ठेक्का लागि काम भइरहेको छ । यो सडक ८.५ किमी काठमाडौँ र बाँकी मकवानपुरमा पर्दछ ।

सो सडकको स्तरोन्नतिका लागि संघीय सरकारले हाल ४० करोड रुपैयाँ विनियोजन गरेको छ।

तस्बिरः महेश बर्ताैला ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *