नेपालमा महिला क्रिकेटको हालसम्मकै सबैभन्दा ठूलो प्रतियोगिता आयोजना हुने
थानकोट।
आईसीसी महिला टी-२० विश्वकप-२०२६ को छनोट प्रतियोगिता नेपालले आयोजना गर्ने भएको छ ।
विश्व क्रिकेटको सर्वोच्च निकाय आईसीसीले बिहीबार आगामी वर्षको जनवरी १२ देखि फेब्रुअरी २ सम्म छनोट प्रतियोगिता नेपालमा हुने जनाएको हो ।
महिला क्रिकेटमा यो नेपालमा आयोजना हुने सबैभन्दा ठूलो प्रतियोगिता हो ।
छनोटमा कुल १० टोलीले प्रतिस्पर्धा गर्नेछन् ।
जसमा हालसम्म बंगलादेश र आयरल्यान्डसँगै नेपाल, थाइल्यान्ड र अमेरिका गरी पाँच टिमको टुंगो लागेको छ ।
बंगलादेश र आयरल्यान्डले सन् २०२४ को विश्वकपमा खेलेको हुँदा स्वतः ग्लोबल क्वालिफायरमा स्थान बनाएका हुन् ।
नेपाल र थाइल्यान्ड एसिया क्षेत्रीय छनोटबाट ग्लोबल क्वालिफायरमा आएका हुन् ।
यस्तै, अमेरिकाले अमेरिका क्षेत्रीय छनोट जित्दै ग्लोबल क्वालिफायरसम्मको यात्रा तय गरेको हो ।
बाँकी आठ टोली भने अफ्रिका, युरोप र इस्ट एसिया-प्यासिफिक छनोटबाट आउने आईसीसीले जनाएको छ ।
आईसीसीका अनुसार, अफ्रिका र युरोपको क्षेत्रीय छनोटबाट समान दुई-दुई र इस्ट एसिया-प्यासिफिक छनोटबाट एक टोली ग्लोबल क्वालिफायरमा आउनेछन् ।













