ग्रीन कार्ड पाएको दुई दिनमै अमेरिकामा सवारी दुर्घटनामा बिते २० वर्षीय ओपेन्द्र
थानकोट।
अमेरिकामा गाडीको ठक्करबाट एक जना नेपाली युवकको मृत्यु भएको छ।
रूकुम पश्चिमको बाफीकोट गाउँपालिका-३ नेपानेका २० वर्षीय ओपेन्द्र बोहराको अमेरिकामा गाडीको ठक्करबाट घाइते भई उपचारका क्रममा मृत्यु भएको हो।
बाफीकोट– ३ का वडाध्यक्ष लिलबिर केसीका अनुसार शनिबार राति करिब १० बजेतिर कोठामा आउँदै गर्दा बाटो काट्ने क्रममा बोहरालाई गाडीले ठक्कर दिएको थियो। उनको उपचारका क्रममा आइतबार बिहान ८ बजेतिर अस्पतालमा मृत्यु भएको भन्ने खबर अमेरिकाबाट चिनजानका साथीहरूले खबर गरेको वडाध्यक्ष केसीले सेतोपाटीलाई बताए।
टेक्ससको राजधानी अस्टिनमा उनलाई गाडीले ठक्कर दिएको थियो।
‘ओपेन्द्रले दुई दिन अगाडि मात्रै अमेरिकाको ग्रीन कार्ड पाएका रहेछन्,’ वडाध्यक्ष केसीले भने, ‘दुर्भाग्य गाडीको ठक्करबाट अचानक मृत्यु भएको खबर आयो।’
सोमबार मध्याह्न १२ बजेतिर मृतक ओपेन्द्रको घरमा भेटघाट गरी आफू कार्यालय फर्किएको वडाध्यक्ष केसीले बताए।
रूकुममा छँदा ओपेन्द्रले मोटरसाइकल बनाउने मिस्त्रीको रूपमा काम गर्थे।
वडाध्यक्ष केसीका अनुसार परिवारका तीन बहिनी छोरी मध्ये कान्छीको ५ वर्षअघि मृत्यु भएको, दुई छोरी विवाह गरी गइसकेका हुँदा घरमा मुक्ति बोहराका बुढाबुढी मात्रै बस्दै आएका छन्। उनीहरूका जेठो छोरा पनि अमेरिकामा छन्।
सेतोपाटीबाट ।


















